चेतावनीः ‘कोरोनाभाइरस केवल सुरुवात, मानिस नसुध्रिए यस्ता कैयौं महामारी आउनेछन्’
काठमाडौं। कोरोनाभाइरस सुरुवात मात्र भएको र यदि मानव नसुध्रिएमा विश्वको हालत अझै बिग्रिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । नेचर म्यागजिनमा प्रकाशित एक लेखमा वैज्ञानिकहरुले यस्ता अन्य कैयौं महामारी जुनसुकै बेला फैलिन सक्ने र यसको लागि तयारी गर्नुपर्ने बताएका छन् । नेशनल जियोग्राफीक्सको सहयोगमा तयार पारिएको लेखमा कसरी घरपालुवा जीव, खाद्य सामग्री र औषधीहरुको प्रयोग तथा जंगलको घट्दो क्रमले विश्वमा यस्ता संक्रामक महामारीको प्रकोप फैलिन्छ भन्ने बताइएको छ ।
वैज्ञानिकहरुका अनुसार मानिसको बढ्दो जनसंख्याले मानिसलाई जंगली जनावरको नजिक लगिरहेको छ । मरिन इकोलोजिस्ट एनरिक सालाका अनुसार मानिसहरुलाई यहीँबाट नयाँ र संक्रामक भाइरसहरुको संक्रमणको खतरा बढेको छ । मानिसहरु लगातार खतरनाक भाइरसहरुलाई आफ्नो जीवनको नजिक ल्याइरहेका छन् । यो आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो ।
२०५० सम्म विश्वको जनसंख्या करिब २ अर्बले बढेर ९ अर्ब ७० करोडको हाराहारीमा पुग्ने प्रक्षेपण गरिएको छ । यो स्थितिमा खानाको अभाव हुनेछ । मानिसहरुले जंगली जीवहरुलाई खान थाल्नेछन् । यस्तोमा जंगली जीवहरुबाट खतरनाक भाइरस मानिसमा फैलिएर मानव समुदायलाई ठूलो क्षति पुर्याउनेछन् ।
प्लानेटरी हेल्थ एलायन्सका डा. सामुएल मायर्सका अनुसार मानिस जंगली जनावरतर्फ नजिकिनु निकै खतरनाक छ । हामीलाई थाहा छैन कुन जनावरको शरीरमा कस्ता किसिमका भाइरस वा घातक ब्याक्टेरिया छन् । यिनीहरुले पूरै मानवतालाई रोगी बनाउन सक्छन् ।
संक्रामक रोगका विशेषज्ञ डेभिड क्वामेनका अनुसार जंगली जनावरमा कैयौं किसिमका ब्याक्टेरिया, फंगस र भाइरस हुन्छन् । यदि मानवले यसैगरी जंगली जनावर खाइरह्यो, जसरी चीनमा मानिसहरुले खान्छन् भने मानव समुदाय कैयौं प्रकारका संक्रामक रोगको शिकार भइरहनेछ । किनकि जंगली जनावरमा पाइने कोभिड १९ जस्ता भाइरस पूरै विश्वमा विनाश मच्चाउन सक्छन् । यी भाइरस मानव बस्तीमा आएमा कोही बच्न सक्ने छैन ।
अहिलेसम्म कोरोनाभाइरस चीनको हुबेइ प्रान्तको वुहान शहरको एक जंगली जनावरको बजारबाट मानव शरीरमा आएको मानिएको छ । यसपछि चीनले जंगली जनावर खान र बेच्न प्रतिबन्ध लगाएको छ । शोधकर्ताहरुले मानव र जंगली जनावरको बीचमा दूरी कायम राख्न अझै कडा कानुनको आवश्यकता औंल्याएका छन् ।
Facebook Comment