कोरोनाभाइरसको भ्याक्सिन अपेक्षा गरेभन्दा धेरै चाँडै तयार हुने
काठमाडौं। कोरोना भाइरसको भ्याक्सिन अपेक्षा गरिएभन्दा धेरै चाँडै उपलब्ध गराउन सक्ने अमेरिकी फर्मास्युटिकल कम्पनी मोडर्नाले दावी गरेको छ । यो महिनाको सुरुदेखि भ्याक्सिनको मानवमा परीक्षण सुरु गरेको कम्पनीले यही वर्षको पतझडको मौसम (सेप्टेम्बर) सम्म सीमित मात्रामा भ्याक्सिन बनाउने सफल हुने सोमबार घोषणा गरेको छ । कम्पनीले सोमबार अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनलाई यस सम्बन्धमा डिस्क्लोजर रिपोर्ट पेश गरेको छ ।
द स्ट्रिटले मोडर्नाका सीइओ स्टिफन बेन्सेलले गोल्डम्यान स्याक्सका प्रतिनिधिसँग भनेको भनाइको हवाला दिँदै लेखेअनुसार बेन्सेलले भनेका थिए ‘व्यवसायिक रुपमा उपलब्ध हुने खोप कम्तीमा १२ देखि १८ महिनासम्म उपलब्ध गराउन सकिने छैन तर आपतकालीन उपयोगको लागि यो खोप केही व्यक्तिहरुका लागि भने चाँडै उपलब्ध गराउन सकिनेछ । यसरी खोप उपलब्ध गराइने व्यक्तिहरु स्वास्थ्य सेवामा लागेका व्यक्तिहरु हुन सक्छन् । यो २०२० को पतझडको मौसमसम्म सम्भव हुन सक्नेछ ।’
कम्पनीले एन्टि कोभिड १९ खोपलाई एमआरएनए–१२७३ नामबाट विकसित गरिरहेको छ । यो भ्याक्सिन अमेरिकास्थित भ्याक्सिन रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका शोधकर्ताहरुको अनुसन्धानमा आधारित छ । भ्याक्सिनको फेज १ अध्ययनमा गरिएको काममा १६ मार्च २०२० मा सुरुवाती सहभागीलाई यसको डोज दिइएको छ । वैज्ञानिक र डाक्टरहरुले अहिले डोजको सुरक्षा र प्रतिरोधात्मक पक्षहरुको आँकलन गरिरहेका छन् ।
यो कार्यक्रममा एक स्वस्थ व्यक्तिलाई २८ दिनको अन्तरालमा भ्याक्सिनको २ डोज दिइनेछ । रिपोर्टका अनुसार अध्ययनमा ४५ स्वस्थ वयस्कहरुलाई सहभागी गराइएको छ । यी सहभागीहरुलाई १२ महिनासम्म निगरानीमा राखेपछि मात्र भ्याक्सिनलाई व्यवसायिक रुपमा बजारमा उपलब्ध गराइनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ ।
Facebook Comment