कोरोनाभाइरसः डोनाल्ड ट्रम्पको दावीको गलत अर्थ बुझेर आफैं औषधी खाएका बिरामीको मृत्यु
काठमाडौं। अमेरिकामा एक वृद्धको मृत्यु भएको छ । कोरोनाभाइरसबाट बच्नको लागि आफैं औषधी खाएका ती वृद्धको मृत्यु भएको हो । उनीसँगै औषधी खाएकी उनकी श्रीमती आइसीयूमा छिन् । अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि पटक–पटक औंलोविरुद्ध प्रयोग हुने औषधी क्लोरोक्विनका कम्पोनेन्टलाई कोरोनाभाइरस मार्नको लागि ‘गेमचेन्जर’को रुपमा प्रस्तुत गरेका थिए । ट्रम्पले कोरोनाभाइरस मार्नको लागि यो औषधी प्रभावकारी हुने दावी गरेका थिए ।
ट्रम्पको यो दावीलाई एक वृद्धले अत्यन्तै गम्भीरताका साथ लिए र यसको आफ्नो तरिकाले अर्थ लगाए । त्यसपछि उनले आफ्नी श्रीमतीसँगै यो औषधी खाए जसका कारण उनको मृत्यु भएको छ भने उनकी श्रीमती आइसीयूमा भर्ना भएकी छिन् । न्यूयोर्क पोस्टका अनुसार ट्रम्पको दावीलाई विश्वास गरेर एरिजोनाका एक वृद्ध दम्पतीले केही नसोची एन्टि मलेरिया औषधी क्लोरोक्विन खाएका थिए । यसका कारण उनको मृत्यु भएको छ ।
विश्वभरका देश अहिले कोरोनाभाइरसको लागि भ्याक्सिन आविष्कार गर्न जुटेका छन् । यही कडीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले कोरोनाको लागि दुई औषधीका कम्पोनेन्टको उल्लेख गरेका थिए । यीमध्ये एउटा हाइड्रोक्लोरोक्विन र एजिथ्रोमाइसिन जस्ता औषधी पनि थिए । डोनाल्ड ट्रम्पले क्लोरोक्विन औषधी पनि ‘गेमचेन्जर’ हुन सक्ने दावी गरेका थिए ।
यद्यपि कैयौं डाक्टरहरुले उनको दावीका विषयमा प्रश्न उडाएका थिए । डाक्टरहरुले यी औषधीहरुलाई प्रमाणित गर्न नसकिने बताएका थिए । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले पनि यसलाई अनुमति दिएको थिएन । एरिजोनाको अस्पताल ब्यानर हेल्थका डाक्टरहरुले भने कोरोनाभाइरसविरुद्ध आफैं औषधी खाने कुरालाई लिएर चेतावनी दिएका छन् । डाक्टरहरुले क्लोरोक्विन औषधी खाएको ३० मिनेटमै यी दम्पतीको हालत बिग्रिएको र आफ्नो अस्पताल ल्याइएको बताएका छन् । उनीहरुले औषधी कहाँबाट पाए भन्नेबारे अस्पतालले केही बताएको छैन ।
Facebook Comment