३ पटक अस्पताल पुगे तर डाक्टरले परीक्षण गर्न मानेनन्, कोरोनाभाइरसबाट बिरामीको मृत्यु
काठमाडौं। विश्वभरमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विश्वभरीका देशहरु यो भाइरससँग लड्न आफ्नो पूरै क्षमता लगाइरहेका छन् । तर, विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकामा समेत कोरोनाभाइरससँग लड्ने विषयमा लापरवाही भएको भन्दै कैयौं प्रश्नहरु उठिरहेका छन् । अमेरिकामा लगातार कोरोनाभाइरस परीक्षणमा कमीको विषय सार्वजनिक भइरहेको छ ।
केही दिनअघि मात्र ३९ वर्षकी एक महिलाले परीक्षणको नतिजा नआउँदै ज्यान गुमाएकी थिइन् । लगत्तै अर्का एक व्यक्ति पटक–पटक अस्पताल पुगेर पनि डाक्टरले परीक्षण गर्न नमानेपछि तड्पिएरै ज्यान गुमाउनु परेको घटना सार्वजनिक भएको छ । यी व्यक्ति ३ पटकसम्म कोरोनाभाइरसको आशंकामा परक्षिण गराउनको लागि अस्पताल पुगेका थिए तर तीनै पटक डाक्टरहरुले उनको परीक्षण गर्न अवीकार गरे ।
द क्यान्सस सिटी स्टारका अनुसार क्यान्ससको लेनेक्साका ७४ वर्षका डेलिस विल्सन पहिलो पटक १२ मार्चमा बिरामी भएका थिए र अस्पताल गएका थिए । उनकी पत्नी जोनाका अनुसार उनी तीन पटकसम्म डाक्टरलाई भेट्न अस्पताल गए तर उनको कोरोनाभाइरस परीक्षण समयमा गरिएन । जोनाका अनुसार टाक्टरहरुले डेनिसलाई उनको शरीरमा कोरोनाभाइरस परीक्षण गर्नको लागि पर्याप्त लक्षण नभएको भन्दै ३ पटक नै फर्काइदिएका थिए ।
पछि उनी यति धेरै सिकिस्त भए कि उनलाई एम्बुलेन्समा अस्पताल लैजानुपर्ने अवस्था आयो । शनिबार डेनिसको मृत्यु भयो । उनकी पत्नी जोनाले फेसबुकमा लेखेकी छिन् ‘लडाइँ समाप्त भयो ।’ अमेरिकामा डेनिसजस्ता कैयौं मानिसहरु छन् जसले आफूहरुको कोरोनाभाइरस परीक्षण नगरिएको गुनासो गरिरहेका छन् । न्यूयोर्क टाइम्सको उक रिपोर्टका अनुसार अमेरिकामा प्रभावशाली मानिसहरु, सेलिब्रेटी, नेता र धनी मानिसहरु भने सजिलै कोरोनाभाइरसको परीक्षण गराइरहेका छन् । बास्केटबल एसोसिएसनका कैयौं टिमहरुले आफ्ना सबै खेलाडीको परीक्षण गराइसकेका छन् ।
जोनाका अनुसार १५ मार्चमा डाक्टरहरुले डेनिसको एक्स रे गरेका थिए जसमा डेनिस निमोनिया पीडित भेटिएका थिए । डाक्टरहरुले उनलाई कोरोनाभाइरसको संदिग्ध बिरामी त भने तर परीक्षण गरेनन् । पछि अस्पतालमा भर्ना गरिएपछि मात्र उनको कोरोनाभाइरस परीक्षण गरियो जसमा रिपोर्ट पोजेटिभ आयो । मृत्युभन्दा पहिले उनको एक हप्ता निकै पीडामा बित्यो । अमेरिकामा ४६ हजार ३७० भन्दा धेरै कोरोनाभाइरबाट संक्रमित भइसकेका छन् र ५८० भन्दा धेरैको ज्यान गइसकेको छ ।
Facebook Comment