दक्षिण एशियाली अर्थमन्त्रीबिच भिडियो कन्फेरेन्स : नेपालले माग्यो अन्तर्राष्ट्रिय सहयोग
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राज्यको क्षमता सीमित हुँदा कोरोनाको कारण क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण बनेको बताएका छन् ।
बुधबार दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंक उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी भिडियो छलफल उनले कोरोना प्रभावबाट भएको क्षति परिपुर्ति गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताए ।
दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा समेत राखे ।
अर्थमन्त्री खतिवडाले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राख्दै महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको जानकारी दिए ।
भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे धारणा राखेका थिए ।
छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हाट्विग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाईरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता निकायका पदाधिकारीका सहभागिता रहेको थियो ।
Facebook Comment