कोरोनाभाइरसः विकसित देशका दर्दनाक घटनाहरु जसले विश्वको मुटु हल्लाउँछन्
काठमाडौं। स्पेन र इटलीमा कोरोनाभाइरसको प्रकोपका यता मार्मिक घटनाहरु सार्वजनिक भएका छन् जो पूरै विश्वको मुटु हल्लाउनका लागि पर्याप्त छन् । यी दुवै देशमा अब बिरामीको उपचार गरिरहेका डाक्टर र नर्सहरु नै रोगको शिकार भइरहेका छन् । इटलीमा गाउन, पञ्जा र मास्कको चरम अभाव छ । डाक्टरहरु सरकारलाई पत्र लेखिरहेका छन् र बिन्ती गरिरहेका छन् कि हामीलाई यसरी नछोडियोस्, हामीलाई संसाधन दिइयोस् । कुनै समय आफ्नो ग्लोबल हेल्थ केयरमा गर्व गर्ने स्पेनको मोडलमाथि पनि प्रन उठ्न थालेका छन् । यहाँ जिम र पालमा बिरामीको उपचार भइरहेको छ ।
खोकीको चिरपरिचित र अशुभ आवाज
स्पेनबाट समाचार एजेन्सी एपीले यहाँका अस्पतालमा त्रासदीको कारुणिक चित्रण गरेको छ । स्पेनकी ३२ वर्षकी नर्सले अब त्यो डरलाग्दो खोकीलाई ठिकसँग चिनिसकेकी छिन्, जसको आवाज नै एक अशुभ घटनाको संकेत बनिसकेको छ । मड्रिड इमरजेन्सीमा काम गर्ने प्याट्रिसिया न्यूनेज भन्छिन् ‘यो आवाजलाई हामी अस्पतालमा सुन्दा–सुन्दा दिक्क भइसकेका छौं । यो खोकी नै यो बताउनको लागि पर्याप्त छ कि तपाइँ कोरोनाबाट ग्रस्त हुनुभयो ।’
प्याट्रिसिया पनि एक दिन खोक्न थालिन् र त्यही भयो जसको डर थियो । अन्ततः उनको पनि कोरोना पोजेटिभ परीक्षण भयो । आफ्नो घरबाट भिडियो कलमार्फत कुरा गर्दै उनले एपीसँग आफू छिटो ठिक हुन चाहेको बताइन् ताकि उनी फेरि अस्पताल जान कुन् र कामको बोझबाट त्रस्त भइसकेका आफ्ना साथीहरुलाई सहयोग गर्न सकुन् । उनले भनिन् ‘सबैभन्दा खराब कुरा यो हो कि तपाइँ घरमै बस्नुपर्छ, जबकि तपाइँलाई थाहा छ यतिबेला अस्पतालमा तपाइँको ठूलो आवश्यकता छ ।’
बरण्डामा बिरामी, भुइँमा सुतेका बिरामी
स्पेनको राजधानी मड्रिडका अपतालका सार्वजनिक भएका तस्वीरहरु यो बयान गर्न पर्याप्त छन् कि कोरोनाभाइरसका बिरामीका कारण अस्पतालहरु आफैं आत्तिएका छन् । संसाधन चर्मराइसकेका छन् । केही तस्वीरमा मड्रिडका दुई अस्पतालमा कोरोनाका बिरामी अक्सिजन सिलिण्डरमा अड्किएका देख्न सकिन्छन् । अस्पतालको बरण्डामा पनि बिरामी छन्, इमरजेन्सी रुपममा बिरामीको लाइन लागेको छ । स्पेनको अस्पताल १२ डे अक्टुबर युनिभर्सिटीमा पछिल्ला दिनमा बिरामीहरु भुइँमा सुतिरहेका देखिन्छन् ।
१४ मध्ये ११ तल्लामा बिरामी
बुधबार स्पेनको स्वास्थ्य विभागका अधिकारीहरुले भने कि देशभरमा लगभग ६ हजार ५ सय मेडिकल स्टाफ यो रोगबाट संक्रमित भएका छन् । एपीको समाचार अनुसार कम्तीमा तीन स्वास्थ्यकर्मीको यो रोगका कारण मृत्यु भएको छ । मड्रिडको अस्पताल डे ले पाजकी नर्स लिडिया परेरा भन्छिन् ‘हामी क्षत विक्षत भइरहेका छौं । हामीलाई अझै स्वास्थ्यकर्मी चाहिन्छन् । यो अस्पतालमा १ हजार बेड छन्। १४ तलाको यो अस्पतालमा अहिले ११ तल्लामा कोरोनाका बिरामी छन् । तर अझै पर्याप्त ठाउँ छेन । मानिसहरु आइरहेका छन् ।’
विकसित देशमा जिम र पालमा उपचार
कोरोनाका त्यता बिरामी जो कम गम्भीर छन् उनीहरुलाई बेडको अभावको कारण अस्पतालको जिममा राखिएको छ वा बाहिर एउटा ठूलो पाल लगाइएको छ जहाँ उनीहरुको उपचार भइरहेको छ । सुन्दा त यो तेस्रो विश्वको लाचार स्वास्थ्य सुविधाको वर्णन जस्तो सुनिन्छ तर युरोपको एक शक्तिशाली देश अब कोरोनाको अगाडि यतिसम्म लाचार भइसकेको छ । यो कुरासँग स्वयं परेरा पनि सहमत छिन् ।
उनले भनिन् ‘यदि तपाई मलाई ३ महिना पहिले भन्नुहुन्थ्यो कि म स्पेनमा यस्तो हालतमा काम गर्नेछु, म तपाइँको कुरामा पटक्कै विश्वास गर्ने थिइन ।’ उनका अनुसार यो अस्पतालमा ती मेडिकल स्टाफको मात्र जाँच भइरहेको छ जसमा कोरोनाका लक्षण देखिइसकेका छन् । यदि यहाँ नियमित परीक्षण गर्न थाल्ने हो भने त अस्पतालमा स्टाफ नै देख्न पाइँदैन । विशेषज्ञहरुका अनुसार मेडिकल स्टाफ बिरामी हुँदा दोब्बर नोक्सानी हुन्छ । पहिलो, उनीहरु संकटको समयमा सहयोग गर्ने योग्यता गुमाउँछन् र दोस्रो उनीहरु आफैं संक्रमणको केन्द्र बन्छन् ।
कृपया हामीलाई एक्लै नछोड्नुहोस्
इटलीमा कोरोनाभाइरसको संक्रमणबाट करिब ७० हजार मानिसहरु ग्रसित छन् । यसको १० प्रतिशत मेडिकल कामदार, डाक्टर र नर्सहरु छन् । यी स्वास्थ्यकर्मी दिनहुँ रकारसँग संसाधनको लागि गुहार मागिरहेका छन् । इतिहरुको गुहार छ कि उनीहरुलाई धेरै भन्दा धेरै, पञ्जा, मास्क र सर्जिकल चस्मा दिइयोस् । इटलीका डा. फ्रान्सेस्का डे गेनारो ले सरकारलाई खुला पत्र लेख्दै भनेका छन् ‘कृपया हामीलाई एक्लै नछोड्नुहोस् । तपाइँ हाम्रो जति सहयोग गर्न सक्नुहुन्छ गर्नुहोस् ।’ उनले सरकारसँग मेडिकल उपकरणको माग गरेका छन् ।
डे गेनारो इटलीको बेरगामोमा एउटा सानो अस्पताल चलाउँछन् । यहाँ कोरोनाको प्रकोप अत्याधिक छ । यो अस्पतालका ४६० मध्ये ९० स्टाफ कोरोना भोजेटिभ पाइएका छन् । इटलीको मिडियाका अनुसार यहाँ कोरोनाको उपचारको क्रममा १९ मेडिकल स्टाफ मारिएका छन् । इटलीमा गाउन, मास्क जस्ता सामानहरुको चरम अभाव छ ।
उता स्पेनको राजधानी मड्रिडबाट ६५ किलोमिटर टाढा रहेकी एक फोक्सो विशेषज्ञ डा. ओलगा मेदियानोले भनिन् ‘तपाइँ देख्न सक्नुहुन्छ पूरै देशका कामदार घरमा प्लाष्टिकको प्रयोग गरेर डाक्टरको सुट बनाइरहेका छन् ।’ इटली र स्पेन विश्वका विकसित देशको सूचीमा छन् तर कोरोनाभाइरको खतराको पूर्वानुमानमा लापरवाही र संसाधनको कमीले यहाँ हाहाकार मच्चाएको छ । यी दुवै देश आज लाचार भएका छन् र घुँडा टेक्न बाध्य छन् ।
Facebook Comment