पर्यटकको उद्धार सुरु, बुद्ध र तारा एयरलाई अनुमति
काठमाडौं । सरकारले लकडाउनका कारण विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई विहीबारदेखि उद्धार गर्न थालेको छ ।
तारा र बुद्ध एयरले नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिएर विभिन्न ठाउमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउन थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेसँगै मन्त्रालयले उद्धारको काम थालेको हो ।
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययका अनुसार पर्यटकहरु जो जहाँछन् त्यहीबाट उद्धारको प्रयास सुरु भइरहेको छ । उनीहरुसँग सम्पर्क गर्ने सरकारले कोसिस गरिरहेको र पर्यटक आफैले पनि जानकारी दिन उनले आग्रह गरे ।
उद्धार गरिएका पर्यटकलाई विभिन्न होटलमा क्वारेन्टाइनमा राखिने भएपनि त्यसको खर्च पर्यटक आफैले व्यहोर्नुपर्नेछ।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डमा स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ ।
Facebook Comment