शालकबाट कोभिड १९ जस्तै भाइरस पाइएको पुष्टि
काठमाडौं। जंगली स्तनपायी जनावर शालकमा रहेको भाइरस र कोभिड १९ भाइरस मिल्दोजुल्दो रहेको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय शोधकर्ताहरुले शालकमा पाइने भाइरस र संसारभर कहर मच्चाइरहेको कोरोनाभाइरस (कोभिड १९) मिल्दोजुल्दो रहेको पुष्टि भएको बताएका छन्।
नेचर जर्नलमा प्रकाशित रिपोर्टको हवला दिँदै बीबीसीले दक्षिणपूर्वी एशियामा पाइने शालकमा रहेको भाइरस र चीनको वुहानबाट फैलिएको कोरोना भाइरस मिल्दोजुल्दो रहेको बताएको छ। शालक संसारमा सबैभन्दा धेरै तस्करी हुने जंगली जनावर मध्ये एक हो। चीनमा शालकको छालाबाट पारम्पारिक औषधि बनाउने गरिन्छ। साथै शालक मासुका लागि पनि तस्करी हुने गरेको छ। तस्करीकै कारण हाल यो स्तपनपायी जनावर लोप हुने अवस्थामा पुगेको छ। नेपालबाटसमेत यसको चोरी निकासी हुने गरेको छ।
शोधकर्ताहरुले भविष्यमा कोरोना भाइरसको जस्तै महामारी हुन नदिन यस्ता जंगली जनावरको विक्रिवितरणमा प्रतिबन्ध लगाउनुपर्ने र यी जनावरहरुको संरक्षणमा कडाई गर्नुपर्ने सुझाव दिएका छन्।
कोरोना भाइरस मुलरुपमा चमेरोबाट फैलिएको मानिन्छ। शोधकर्ताहरुले शालकको जीनको पनि अध्ययन गरिएको जनाएका छन्। स्मरण रहोस शालक सबैभन्दा धेरै चीनमा तस्करी हुने गर्छ। र कोरोना भाइरस पनि चीनबाटै फैलिएको हो।
कोरोना भाइरसका कारण हालसम्म ५ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने करिब २३ हजारको मृत्यु भएको छ। यो महामारीबाट बच्न विश्वभरको एकतिहाई जनसंख्या लकडाउनमा छ।
Facebook Comment