कोरोनाको डरका कारण गाउँ छिर्न दिइएन, ७ जना युवा रुखमा क्वारेन्टाइन बस्न बाध्य
काठमाडौं। कोरानोभाइरसको बढ्दो प्रकोपपछि धेरै युवाहरु गाउँ फर्केका छन् । तर, गाउँलेहरुमा पनि बाहिरबाट फर्किने व्यक्तिले गाउँमा कोरोनाभाइर संक्रमण ल्याउने त्रास छ । यही त्रासका कारण भारतको पश्चिम बंगालमा चेन्र्नबाट फर्केका ७ जना युवालाई गाउँलेहरुले गाउँ छिर्न दिएनन् । ती युवाहरु बाध्य भएर गाउँबाहिर रुखमा क्वारेन्टाइनमा बसेका छन् । पश्चिम बंगालको पुरुलिया जिल्लाको भंगडी गाउँमा यी ७ जना युवकहरु विगत ५ दिनदेखि रुखका हाँगामा क्वारेन्टाइन बसेका छन् ।
जमिनदेखि लगभग ८ देखि १० फिट उचाइमा रुखका हाँगाहरुमा बाँस बाँधेर बस्न मिल्ने खटिया जस्तो बनाइएको छ । यसलाई एउटा प्लाष्टिक र एउटा झुलले ढाकिएको छ । रातमा उज्यालो र मोवाइल चार्ज गर्नको लागि रुखमै बिजुली जोडिएको छ । उनीहरुलाई मास्क पनि दिइएको छ । गाउँमा रहेका आफ्ना परिवारबाट छुट्टै बसेका यी युवक शौचालय जान, नुहाउन र खाना खान भने रुखबाट झर्न पाउँछन् ।
गाउँबाहिर बसिरहेका यी ७ युवक श्रमिक हुन् र उनीहरु चेन्नइमा काम गर्थे । लकडाउनभन्दा ठिक अगाडि उनीहरु चेन्नइबाट ट्रेनमा आफ्नो गाउँ पुगेका थिए तर गाउँलेहरुले कोरोनाभाइरसको डरका कारण उनीहरुलाई गाउँमा प्रवेश गर्न दिएनन् । त्यतिबेलादेखि यी युवकहरु रुखमै बसिरहेका छन् । यी मजदूर चेन्नइबाट यस्तो समयमा गाउँ फर्के जतिबेला भारतमा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । डाक्टरले उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनेका थिए तर गाउँलेहरुले भाइरसको डरले उनीहरुलाई गाउँबाहिर आँपको रुखमा बने व्यवस्था गरिदिए ।
आँपको रुखमा बस्ने यी ७ मध्ये एक युवकले इण्डियन एक्सप्रेससँग भने ‘हामी आफ्नो धेरै समय रुखमै बिताउँछौं । शौचालय जान, कपडा धुन, नुहाउन र खाना खान तल झर्छौं ।हामी पूर्ण रुपमा अलग हुन र गाउँमा कसैको लागि जोखिम नबन्नको लागि यस्तो गरिएको हो । हामी गाउँलेहरुले भनेका हरेक कुराको ख्याल गर्छौं । यी सबै युवकको उमेर २२ देपिख २४ वर्ष छ ।
Facebook Comment