कोरोना नियन्त्रणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
१७ चैत २०७६ २२:११

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कोभिड–१९ को रोकथामका लागि प्रदेश सरकार निकै संवेदनशील भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन प्रदेश सरकारले सम्पूर्ण तयारी पूरा गरेको उनले जिकिर गरे । मुख्यमन्त्री भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा स्वास्थ्य जाँच कक्ष तथा प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन स्थापना गर्न निर्देशन दिएसँगै कोरोना नियन्त्रणका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले भने, “कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले सम्पूर्ण तयारी पूरा गरेको छ, नागरिकले पनि सचेत हुन जरुरी छ ।”

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव हुन नदिन तथा उनीहरुको स्वास्थ्य जाँचसहित कोरोना नियन्त्रण अभियानमा लाग्न सबै पालिकालाई निर्देशन दिएकोसमेत मुख्यमन्त्री भट्टले बताए। भारतबाट आएका नागरिक क्वारेन्टाइनमा बसे नबसेका बारेमा पनि अनुगमन गरिने उनले जानकारी दिए । “यो समय कुराभन्दा पनि काम गरेर देखाउनुपर्ने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट कोरोनाविरुद्ध उत्रिनुपर्छ”, उनले भने, “कोरोना विश्वव्यापी समस्या हो, सरकारले गर्छ भन्दै कुरेर बस्ने हैन जसले जे–जति सक्छ सबैले कोरोनाविरुद्ध लाग्नुपर्छ ।” कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रदेशका सबै स्थानीयतहमा पर्याप्त बजेट विनियोजन गरेकोले उपचारका लागि डराउनुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमको प्रादेशिक अस्पताल धनगढी, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल डोटीमा कोरोना परीक्षणसहितको ल्याबको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए । कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा रु ४० करोडको कोषसमेत स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा एक जनाबाहेक अन्य जिल्लामा कोरोना भाइरसका सङ्क्रमित अहिलेसम्म देखिएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *