मेरिल्याण्ड र भर्जिनियामा ‘स्टे एट होम’ अर्डर

डिसी नेपाल
१८ चैत २०७६ ७:५७

वासिंगटन डिसी । अमेरिकाको राजधानीनिकटका दुई राज्यहरु मेरिल्याण्ड र भर्जिनियामा मार्च ३० तारिक सोमबार सांझदेखि कोरोना संक्रमणको दर बढेपछि “घरभित्रै बस्ने” आदेश जारी भएको छ ।

दुबै राज्यका गभर्नरहरुले सोमबार “स्टे एट होम” आदेश जारी गर्दै दुबै राज्यका वासिन्दाहरुलाई अत्यावश्यक काम वाहेक घरबाट ननिस्कन भनेका छन् । मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी होगेनको कार्यकारी आदेशमा सोमबार सांझ ८ बजेदेखि लागू हुने गरी मेरिल्याण्डवासीहरुलाई घरमै बस्न भनिएको छ ।

गभर्नर होगेनले मेरिल्याण्डमा १४ सय १३ संक्रमित केसहरु आइसकेको र एक महिने बच्चासमेत संक्रमित भइसकेको भन्दै अति आवश्यक परेमात्र घरबाट बाहिर निस्कन भनेका छन् ।

समाचारअनुसार, सोमबार अपरान्हसम्ममा कोरोनाको संक्रमणका कारण मेरिल्याण्डमा १६ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी भर्जिनियाका गभर्नर राल्फ नोर्थामले सांझ ८ बजेदेखि नै लागू हुनेगरी स्टे होम अर्डर जारी गरेका हुन् ।

भर्जिनियामा हालसम्म १ हजार २१ जना संक्रमित छन् भने २६ जनाको मृत्यु भइसकेको छ । सोमबार विहानमात्रै भर्जिनियांमा १३० मा थप संक्रमण देखियो भने मेरिल्याण्डमा सोमबार विहानको नयां संक्रमित संख्या १७४  रहेको छ ।

दुबै गभर्नरहरुले खाने सामग्री खरिद, औषधि खरिद, अस्पताल जानजस्ता अति आवश्यकीय काम बाहेक अरु कुनै कारणले घरबाट बाहिर ननिस्कन राज्यवासीहरुमा आग्रह गरेका छन् । दुबै गभर्नरहरुले आफ्ना राज्यहरुमा अतिआवश्यकीय सेवासंग सम्बन्धित कार्यालय र स्टोरहरुमात्र खुल्ला हुने जानकारी पनि गराएका छन् ।

आदेशको उल्लंघन गरे मेरिल्याण्डमा एक बर्षसम्म क़ैद वा ५हजार डलर वा दुवै सजाय र भर्जिनियामा एक बर्षसम्म क़ैद वा २५ हजार डलर वा दुवै सजाय गरिने आदेश छ । अर्को आदेश नआएसम्म यो आदेश जारी रहने छ ।
यी दुबै राज्यमा ठूलो संख्यामा नेपालीहरुको बसोवास रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *