यूएईमा हजारौं नेपाली बेरोजगार हुन सक्ने, कम्पनीलाई विदेशी कामदारलाई तलब नदिन छुट
काठमाडौं। यूएई सरकारले त्यहाँका व्यवसायीलाई कोरोनाभाइरसको कारण समस्यामा परेको खण्डमा आफ्ना विदेशी श्रमिकको तलब पूर्ण रुपमा काट्न पाउने गरी नयाँ नियम बनाएको छ । अब त्यहाँ विदेशी कामदारलाई काममा लगाएका कम्पनीहरुले आफ्ना विदेशी श्रमिकलाई तलबी विदा दिन, बेतलवी विदा दिन, अल्पकालीन वा पूर्ण रुपमा उनीहरुको तलब कटौती गर्न, बेतलबी रुपमा राख्न समेत पाउनेछन् ।
यूएईको मानव संशाधन मन्त्रालयले गरेको यो पछिल्लो निर्णयले त्यहाँ कार्यरत लाखौं नेपाली कामदार मारमा पर्न सक्ने देखिएको छ । अब ती नेपाली कामदारलाई तलब दिने वा नदिने भन्ने कुरा उनीहरु कार्यरत कम्पनीको स्वविवेकमा निर्भर हुनेछ । सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समयभरी तलब नै नदिन समेत पाउनेछ । यसो भएमा नेपाली कामदारहरु ठूलो समस्यामा पर्नेछन् । जसका कारण ठूलो संख्यामा कामदारहरु नेपाल फर्किने स्थिति समेत आउन सक्छ ।
यहाँका कम्पनीहरुले यसअघि नै तलब दिइ कामदारलाई विदामा राख्न नसक्ने भन्दै नेपालबाट कामदार पठाउने म्यानपावर व्यवसायीलाई कामदार फिर्ता ल्याउन दबाब दिइरहेका थिए । मानव संसाधन मन्त्रालयको यो निर्णयले अब ती कम्पनीहरुलाई झनै सहज भएको छ । उनीहरुले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार त्यहाँ बसिरहन सक्ने स्थिति हुने छैन । यस्तोमा ठूलो संख्यामा नेपालीहरु बेरोजगार भएर स्वदेश फर्किने स्थिति आउन सक्छ ।
मानव संसाधन मन्त्रालयले गरेको यो पछिल्लो निर्णय विदेशी कामदारको हकमा मात्र लागू हुनेछ । यूएईका नागरिक भने यो निर्णयबाट प्रभावित हुने छैनन् । गल्फ न्यूजका अनुसार कोरोना भाइरसका कारण समस्यामा परेका व्यवसायीहरुले आफ्ना विदेशी कामदारलाई कार्यस्थलमा नआई काममा लगाउन, उनीहरुलाई तलवी विदा दिन, बेतलवी विदा दिन, समस्या अवधिसम्म तलव घटाउन वा पूर्ण रुपमा तलव काट्न पाउनेछन् । यो निर्णय तत्कालै लागु हुनसक्ने जनाइएको छ ।
Facebook Comment