‘कोरोनाभाइरस मानिसको शरीरमा १०–१५ वर्षअघि नै थियो, वास्ता नगर्दा शक्तिशाली भयो’

डिसी नेपाल
१८ चैत २०७६ १३:४६

कोरोनाभाइरस कसरी मानव शरीरमा आयो भन्ने विषयमा गम्भीर खोज भइरहेका बेला वैज्ञानिकहरुको एक टिमले यो भाइरस मानव शरीरभित्र १०–१५ वर्षअगाडि नै आएको तर त्यतिबेला यति शक्तिशाली नभएकोमा अहिले आएर मानिसको ज्यानै लिन सक्ने शक्तिशाली भएको हुन सक्ने रिपोर्ट सार्वजनिक गरेका छन् । उनीहरुले यो भाइरसले पहिले मानिसलाई बिरामी मात्र बनाउने गरेकोमा अहिले धेरै शक्तिशाली भएर मानिसको ज्यान नै लिन थालेको हुन सक्ने निष्कर्ष निकालेका छन् ।

क्यालिफोर्नियाको स्क्रिप्स युनिभर्सिटी, कोलम्बिया युनिभर्सिटी, युनिभर्सिटी अफ एडिनबर्ग, युनिभर्सिटी अफ सिड्नी र तुलेन युनिभर्सिटीका शोधकर्ताहरुले एउटा सिद्धान्त दिएका छन् जसमा यो भाइरसले १०–१५ वर्ष अघिदेखि मानिसहरलाई बिरामी बनाइरहेको तर कसैको मृत्यु नभएको जनाइएको छ । शोधकर्ताहरुको रिपोर्टका आधारमा डेलिमेलले लेखेको समाचार अनुसार अहिले यो भाइरस यति खतरनाक भइसकेको छ कि यसले मानिसहरुको ज्यान लिन थालेको छ ।

यी सबै विश्वविद्यालयका शोधकर्ताहरुको दावी छ कि कोरोनाभाइरसको सबैभन्दा साझा वाहक चमेरो नै हो र चमेरोबाट नै यो भाइरस मानिसमा आएको हुनुपर्छ । उनीहरुले विगत १०–१५ वर्षमा यो भाइरस पेंगोलिनबाट पनि मानिसमा आएको हुन सक्ने बताएका छन् । शोधकर्ताका अनुसार पहिले यो भाइरसको असर कम थियो तर विस्तारै यसले आफूलाई ‘म्युटेट’ गर्दै आफ्नो चारैतिर काँडेदार प्रोटिन विकसित गर्यो । अब यो काँडेदार प्रोटिन वाला कोभिड १९ मानिसको फोक्सोमा रहेका कोशिकाहरुलाई नष्ट गरिरहेको छ जसका कारण मानिसको ज्यान गइरहेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थ का निर्देशक डा. फ्रान्सिस कोलिन्सले भने ‘शोधकर्ताहरुले आँखा खोलिदिने जानकारी दिएका छन् ।’ कोलिन्स यी शोधकर्ताको टिममा छैनन् । डा. कोलिन्सले पनि कोरोनाभाइरसले मानिसलाई एक वा डेढ दशक अघिदेखि बिरामी बनाइरहेको कुरा सम्भव भएको बताएका छन् । शोधकर्ताहरुले चीनबाट निस्किएको कोरोनाभाइरस मानिसहरुलाई १०–१५ वर्ष अघिदेखि बिरामी बनाइरहेको तर यसको अर कमजोर भएका कारण कसैले यसलाई गम्भीरताका साथ नलिएको दावी गरेका छन् । यी शोधकर्ताहरुको रिसर्च पेपर प्रसिद्ध नेचर म्यागजिनमा प्रकाशित भएको छ । शोधपत्रमा यो भाइरस जनावरबाट मानिसमा आउनु अनि मानिसबाट फेरि जनावरमा गएर फेरि मानिसमा फर्कने प्रक्रियाले यसलाई निकै खतरनाक बनाएको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *