राष्ट्र बैंकद्वारा एक अर्ब ९५ करोड रुपैयाँ निक्षेपका लागि आह्वान
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा एक अर्ब ९५ करोड १२ लाख रुपैयाँ निक्षेप राख्ने भएको छ। बैंकले २०७७ वैशाख २ देखि २०७८ वैंशाख १ गतेसम्म एक वर्षका लागि उक्त निक्षेप राख्न लागेको हो।
राष्ट्र बैंकको उक्त रकममध्ये एक अर्ब ५६ करोड ११ लाख बाणिज्य बैंकमा, विकास बैंकमा २९ करोड र फाइनान्स कम्पनीमा ९ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ।
केन्द्रीय बैंकले सूचना जारी गरी बुधबारसम्ममा बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र दिने व्याजदर स्पष्ट रुपमा उल्लेख गरी शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ।
यसअघि राष्ट बैंकले चैत १० गते लगानीको लागि सुचना जारी गरेको थियो । कोरोना भाइरसको त्रासका कारण कुनैपनि बैंक तथा वित्तिय संस्थाले आवेदन नदिएपछि पुनः सुचना जारी गरेको हो।
राष्ट्र बैंकले रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाको न्युनतम पुँजीकोष राष्ट्र बैंकले तोके अनुसार कायम भएकोे हुनुपर्ने, निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने,खुद तरल सम्पत्ति २० प्रतिशत हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त भएको भए फुकुवामा परेको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्नेलगायतका शर्तहरु राखेको छ।
Facebook Comment