समस्या भए तत्काल मलाइ फोन गर्नुस : राज्यमन्त्री मानन्धर
काठमाडाैं। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई सिधै आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन्।
काठमाडौंभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफू तयार रहेको मन्त्री मानन्धरले जानकारी दिएका छन्।
काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहेका मन्त्री मानन्धरले लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार रहेको बताए। मन्त्री मानन्धरले आफूसहित आफ्नो सचिवालयका सदस्यहरुसँग सिधा सम्पर्क गरेर समस्या राख्न आग्रह समेत गरेका छन्।
मंगलबार पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै उनले सहरी क्षेत्रका सर्वसाधारणको सिमीततालाई मध्यनजर गर्दै काठमाडौंका जनतासँग हातेमालो गर्न आफाु तयार रहेको बताए।
देशभर सरकारले संयन्त्र बनाएर जनताको जीवन रक्षाका लागि तिब्र रुपमा महत्वपुर्ण काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले तत्काल काठमाडौंका जनतामा पर्ने समस्या समाधानका लागि आफुले सहजिकरण गरिरहेको बताए।
कोरोना भाइरसविरुद्धको महायुद्धमा विश्वनै होमिइरहेको अवस्थामा नेपाल सरकारको पहिलो दायीत्व जनताको जीवन रक्षा भएको बताउँदै मन्त्री मानन्धरले जनतालाई कुनै समस्यामा पार्न नदिन सरकारले विभिन्न राहत प्याकेज ल्याइसकेको पनि बताएका छन्।
मन्त्री मानन्धरले विषम परिस्थितिमा मुलुक रहेकाले सिमीतताका बीचमा दैनिकी चलाउन पनि आग्रह गरेका छन्। यस्तो समयमा घर भित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आम नागरिकलाई मन्त्री मानन्धरले आह्वान समेत गरेका छन्।
मन्त्री मानन्धरले सहरी क्षेत्रका मजदुर र आर्थिक अवस्था कमजोर भएका बर्गका नागरिकका लागि सहयोग गर्न चाहनेहरुले एकद्वार प्रणाली मार्फत् सहयोग गर्न सक्ने पनि बताएका छन्।
मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाइ आफ्नो मोबाइल नम्वर ९८५११५९५९२ मा सिधा सम्पर्क गर्न वा आफ्नो सचिवालयका प्रमुख स्वकिय सचिव ओम राजवाहक र अर्का स्वकीय सचिव जयप्रकाश श्रेष्ठसँग सम्पर्क गर्न आग्रह गरेका छन्।
मन्त्री मानन्धरले लकडाउनको अवधि पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन्। मन्त्री मानन्धरले देश र जनता गम्भिर संकटमा परेका बेला जनप्रतिनिधिमाथि ठूलो अपेक्षा हुने भन्दै भूमिका निभाउन सबै तयार हुनुपर्ने बेला आएको बताए।
मन्त्री मानन्धरले विदेशबाट आएर घरमै बसिरहेका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई तत्काल अस्पतालको सम्पर्कमा जान पनि आग्रह गरेका छन्।
खाद्यान्न, ग्यास लगायतका दैनिक उपभोग्य सामग्री खरिद लगायतका विषयमा समस्यामा परेका सर्वसाधारणलाई सहजीकरण गराउनका लागि उपत्यकाका केही स्थानमा नेकपाका पार्टी कार्यकर्ता र स्थानीय जनप्रतिनिधि परिचालन गरिसकिएको मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव रावजाहकले जानकारी दिए।
उपत्यकामा पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई प्रभावकारी रुपमा जनताको दैनिकी सहजीकरणका लागि खटाउनेबारे जिल्लाका नेताहरुसँग परामर्श भइरहेको राजवाहकले जानकारी दिए । काठमाडौं क्षेत्र नम्वर सातका विभिन्न स्थानमा समेत यस्ता समिति बनाइएको छ ।
Facebook Comment