बन्दीपुर गाउँपालिकाद्वारा ४४० परिवारलाई खाद्य सामग्री

डिसी नेपाल
१८ चैत २०७६ १९:५८

तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका छ वडामध्ये आजसम्म तीन वडाका ४४० परिवारलाई एकएक बोरा चामल र नुन वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका वडा नं १, ४ र ५ का वडा बासिन्दालाई खाद्य सामग्री वितरण गरिएको हो ।

१८ शय्याको क्वारेन्टाइन

गाउँपालिकामा हालसम्म छ वडामा तीनतीन शय्या क्षमताको गरी १८ शय्याको क्वारेन्टाइन र आठ शय्याको आइसोलेशन वार्ड स्थापाना गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनका अनुसार गाउँपालिकामा ४८ स्वास्थ्यकर्मी रहेकामा २२ थान मात्रै पिपिई उपलब्ध भएको छ । गण्डकी प्रदेशबाट पिपिई उपलब्ध गराएको भएपनि जनशक्ति अनुरुप पाउन नसक्दा स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न गाह्रो मान्ने गरेका छन् । उहाँले गुनासो पोखे ।

कमाण्ड पोष्टद्वारा सुरक्षा व्यवस्था

विभिन्न देशबाट घर फर्किएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका करेण्टाइनमामा राखिएको र तिनलाई कोभिड–१९ कमाण्ड पोष्टले सुरक्षा व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा मंगलबार बसेको बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिको अनिवार्य रुपमा अभिलेख राख्ने, स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने र आवश्यक कार्यान्वयनका लागि स्वयं स्थानीय तहले गर्नुपर्ने निर्णय गरेको छ ।

५५९ जनाले लिए सवारी पास

जिल्ला प्रशासन कार्यालयबाट सवारी साधनको पास लिनेको संख्या उल्लेखनीय रहेको छ । सोमबारसम्म दुई पाङ्ग्रे २८९ र चारपाङ्ग्रे २७० गरी ५५९ जनाले विभिन्न सवारी साधनका पास लिएका छन् ।

तनहुँ जलविद्युत्, सडक, भवन निर्माण आयोजनामा कार्यरत मजदूरलाई सवारी साधन पास प्रदान गरेर आआफ्नो घरमा जानका लागि पठाइएको जिल्ला प्रमुख अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

जिल्ला आएकाको तथ्याङ्क छैनः प्रजिअ

जिल्ला प्रशासन कार्यालयले बाहिर जिल्ला वा विदेशबाट आएका व्यक्तिहो तथ्याङ्क प्रशासन कार्यालयमा नरहेको जनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरु तनहुँमा ५१० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

करिब दुई साताका अवधिमा जिल्लाभित्र भारत, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिका, जापान, अष्ट्रेलिया, मलेसियालगायत विभिन्न देशबाट उनीहरु फर्किएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *