संकटमा किन संयम गुमाउँदैछन् मन्त्रीहरु ?
सोमबार र मंगलबारका नेपाली मिडिया एवं सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्धको ठूलो आक्रोश पोखिएको छ। उनले सरकारका आलोचकहरु (मिडिया तथा विपक्षीलाईसमेत) कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएपछि सामाजिक सञ्जाल उनीमाथि खनिएको हो।
उनीप्रतिको मानिसहरुको मुख्य टिप्पणी छ ‘सत्ताबाहिर हुँदा तुलनात्मक सालिन र नरम देखिने उनी किन यति यो असहिष्णुताको पराकाष्ठामा ओर्लिए? तर उनको जवाफ किन आएको छैन भने अघिपछि जस्तो ‘आफूले नबोलेकोे’ भन्ने सुविधा अहिले उनीसँग छैन ।
किनभने उनी आफैले बोलाएर सरकारी सञ्चारमाध्यम राससलाई र त्यो पनि आफैले नियुक्त गरेका अध्यक्षलाई अन्तर्वार्ता दिएका छन्। त्यसैले उनीसँगको यतिखेरको सजिलो सुविधा भनेको ती अध्यक्ष वर्खास्त गर्नु हो यदि उनले नभनेको कुरा राससमा आएको भए। भनेकै हो भने उनीजस्तो शान्त प्रवृत्तिको नेताका लागि यो सुहाउँदो कुरा कदापि हुन सक्दैन।
विशेष सम्पादकीय
मंगलबारै एक नेपालीलाई नांगेझार पारेर बजार घुमाएको तस्बिरले बर्तमान सरकार झन् धेरै आलोचना भएको छ। ती नेपालीको अपराध –विदेशी भूमिमा महामारी फैलिएपछि ज्यान जोगाउन महाकाली नदी तरेरै स्वदेशी भूमि छिर्नु थियो। खालीखुट्टासितै र नांगो रहेका उनलाई तीन जना प्रहरीले बजार घुमाएका छन् र तीनका पछि अरु केही मान्छे पनि छन्।
तस्वीरमा हेर्दा त ती नागरिक नांगो देखिन्छन् तर सारमा त्यसले यो देशको राज्य व्यवस्था तथा सत्तामा बस्ने शासकहरुलाई नै बढी नंग्याएको छ।
निहत्था नागरिकलाई नांगेझार पारेर यसरी शहर डुलाएर गणतन्त्रका शासकहरुले काठमाडौँमा न्यानो कपडाका साथ बस्नुको कुनै अर्थ छैन। सत्ताको मात छोडेर एकपल्ट निहाल्नुहोस् त मन्त्रीज्यूहरु यो मार्मिक तस्वीरले कसको इज्जतको हुर्मत लिएको छ?
देशको सीमापारि भारतीय भूमिमा ४/५ सय नेपाली उताको महामारीबाट ज्यान जोगाउन आफ्नो देश छिर्न चाहन्छन्। उनीहरु भोकभोकै र अलपत्र अवस्थामा रहेकै आज नौं दिन भैसक्यो। त्यसो त नेपालले पनि महामारीकै डरले सीमा बन्द पनि गरेको हो। तर आफ्ना नागरिक अलपत्र पर्दा के गर्ने भन्ने योजना बनाएको देखिएको छैन।
निहत्था नागरिकलाई नांगेझार पारेर यसरी शहर डुलाएर गणतन्त्रका शासकहरुले काठमाडौँमा न्यानो कपडाका साथ बस्नुको कुनै अर्थ छैन। सत्ताको मात छोडेर एकपल्ट निहाल्नुहोस् त मन्त्रीज्यूहरु यो मार्मिक तस्वीरले कसको इज्जतको हुर्मत लिएको छ?
यो सहज अवस्था होइन, महामारीको बेला हो। यस्तो बेलामा विदेशमा महामारीमा परेका आफ्ना नागरिकलाई त सरकारले बचाउनुपर्छ भने उनीहरु ढोकामै आएर बसिरहेका छन्।
नेपाली र भारतीय मिडियाले नेपाली भोकभोकै सीमा क्षेत्र र अन्य भारतीय शहरका सडकमा सुतिरहेका देखाइरहँदा हाम्रो सरकार उल्टै आफ्ना आलोचकलाई कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएर आत्मरति देखाइरहेको छ।
उता, निकै मिजासिला ठानिदै आएका स्वास्थ्यमन्त्रीको व्यवहारमा अचानक परिवर्तनहरु देखिन थालेका छन्। हो, उनी संसारले खेपेको महामारीलाई आफ्नो मुलुकमा पार लगाउनु पर्ने मूल जिम्मेवारीमा छन्।
यो जिम्मेवारीले उनमा तनाव पनि बढेको होला। तर, नेतृत्व त समस्याकै बेला पहिचान हुने त हो। चीनसँग खरिद गरेका मेडिकल सामग्रीबारे प्रश्न उठाउँदा उनको जवाफ ‘संकटका बेला ल्याइएका सामग्रीको खरिद प्रक्रियाबारे कसैलाई जवाफ दिन आवश्यक ठान्दिन’ भन्ने आएको छ।
आफ्नै मन्त्रालयका सचिवले पत्रकार सम्मेलन गरेर ‘केही महंगो पर्यो होला’ नै भनेको सबैले सुनेका छन्। लोकतान्त्रिक शासन व्यबस्थामा जननिर्वाचित मन्त्रीलाई आफूले गरेको काममा कहीं कतैबाट प्रश्न उठ्छ भने त्यसको सालिनापूर्वक जवाफ दिनु नै जनताप्रतिको जवाफदेहिता हो।
गलतै मनसायले कसैले प्रश्न उठाएको रहेछ भने तपाईंको सालिन जवाफले जनता कन्भिन्स हुन पनि सक्छन्। लोकतन्त्रको सुन्दर पक्ष हैन र यो? यसको साटो जवाफ दिन आवश्यक नै नठान्नुले त तपाईंको कामप्रति थप शंका गर्न मद्धत पुगेन र ?
देश यतिबेला महामारीमा छ। लकडाउनका कारण जनता घरमै थुनिएको आज नौ दिन भैसक्यो। दैनिक ज्याला मजदुरी नगरी चुलो नबल्ने नागरिकका दैनिकी कसरी कट्दैछन् त्यो सहजै अनुमान लगाउन सकिन्छ। संसारमै महामारी फैलिएकोले विदेशमा रहेका आफन्तको चिन्ता झन् कति होला ? यो जनतालाई सान्त्वता दिने, राहात दिने बेला हो ।
हामीभन्दा बढी महामारीमा परेका विदेशीले समेत करोडौँ रुपैयाँ तिरेर आफ्ना नागरिक नेपालबाट लगेका समाचार मन्त्रीहरुलाई थाहै होला । यो विपक्षी, मिडिया, आम नागरिकको विश्वास जितेर उनीहरुका साथमा रहेर काम गर्ने बेला हो।
यस्तो बेलामा पनि मन्त्रीहरुका उन्मादपूर्ण अभिव्यक्ति आउने त्यसको ढाकछोपमा प्रधानमन्त्री स्वयंले ‘अनियमिता भएको छैन’ भनिदिनुपर्ने बाध्यात्मक अवस्था आएको देखिन्छ। यस्तो संकटको बेलामा मन्त्रीहरुले किन संयम गुमाउँदै छन् ?
वास्तवमा भन्ने हो भने महामारीको सामना गर्न संसारमा सम्पन्न देशहरु पनि तयारी अवस्थामा देखिएनन्। त्यसैले कोरोना भाइरसका कारण आणविक अस्त्र सम्पन्न धनी देशहरु झन् धेरै चपेटामा परेका छन्। हजारौं हजार जनताले ती देशहरुमा संक्रमणका कारण ज्यान गुमाएका छन् ।
नेपालको सन्दर्भमा अहिलेसम्म त्यस्तो दर्दनाक अवस्था आएको छैन । समयमै लक डाउन गर्ने निर्णय गरेर नेपाल सरकारले धेरैको ज्यान जोगाएको अनुभूति सबैतिर भएको पनि छ । काम गर्दा केही कमी कमजोरी अवश्य हुन्छन् तर तिनको पहिचान भइसकेकोपछि उचित समाधन गर्न खोज्नुचाहिँ संकटका बेला नेतृत्वको दायित्व हो।
हामी र हाम्रालागि सरकार प्रयत्नशील छ भन्ने अनुभूति गराउन सक्नु नै सफलता हो । तर, हजार राम्रा काम भएका बेला मन्त्रीज्यूहरुका दुर्बचन र असहिष्णुतापूर्ण अभिव्यक्तिहरुले ती सबैलाई छायामा पारिदिएको छ । मन्त्रीज्यूहरुबाट सुझबुझपूर्ण जिम्मेवार बोली व्यवहारको अपेक्ष गर्नु के अस्वाभाविक होला र ?
Facebook Comment