बंगलादेशबाट विद्यार्थी भन्छन्– कोरोनाविरुद्ध युद्ध लड्न तयार छौँ, हामीलाई नेपाल फर्काइयोस्
काठमाडौँ । बंगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीले आफूहरुलाई नेपाल फर्काउन माग गरेका छन् । बंगलादेशका विभिन्न शहरहरुमा एमबीबीएस पढिरहेका उनीहरुले कोरोना भाइरसको संकटको बेला आफूहरु नेपालको सेवा गर्न चाहेको भन्दै सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने माग गरेका हुन् ।
नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले आफूहरु क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका सरकारले तोकेका सबै मापदण्ड पूरा गर्न तयार रहेको भन्दै तुरुन्तै नेपाल फर्काउन सरकार समक्ष माग गरेका छन् । अध्यक्ष यादवका अनुसार बंगलादेशमा हाल झण्डै ७ सय नेपाली मेडिकलका विद्यार्थी छन् ।
यो बेलामा देश फर्केर सेवा गर्न आफूहरु उत्सुक रहेको पनि यादवको भनाइ छ । ‘हामीले चिकित्शा शिक्षा हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौँ । कोरोना भाइरसको महामारीले देशलाई पिरोलिरहेको,’ यादव भन्छन ‘ यो संकटको घडिमा हामी कोरोनाविरुद्धको युद्ध लड्न तयार छौँ । हामीलाई नेपाल फकाइयोस् ।’
प्रायजसो रास्ट्रले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइसकेको र फर्काउन लागेको बताउँदै सरकारको तयारी एवं व्यवथापन चित्त बुझ्दो नभएको उनीहरूले गूनासाे गरेका छन्।
बंगलादेशमा अध्ययनरत विद्यार्थीले आफूहरुलाई असुरक्षित महसुस गरिरहेको बताएका छन् । उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको उनीहरुको भनाइ छ । ‘नेपाल सरकारले पहिलो चरणको लकडाउन सकिएपछि उद्धार गर्छ कि भन्ने आशामा रहेका नेपाली विद्यार्थी सरकारले उद्धार नगर्ने घोषणा गरेपछि दुखी भएका छन्, यादवले डिसी नेपालसँग भने ’बंगलादेशले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाएको छैन । त्यसले यहाँ रहेका नेपाली विद्यार्थी निकै चिन्तित छन् ।’ आफूहरु १२ दिनदेखि कलेजकै क्वारेन्टाइनमा बसेका उनले जानकारी दिए ।
Facebook Comment