धूप बाट्नेले राहत पाएपछि…
बनेपा। “ धूप बाट्ने काम गरेर घर खर्च चलाउँदै आएका थियौँ, घरमै गर्न मिल्ने काम भएपनि सामान नपाएर काम भएको थिएन । वडा कार्यालयबाट राहत मिल्यो। केहीे दिन गुजारा चल्ने भयो।”
वडा कार्यालयले बोलाएरै राहत दिएपछि पनौती नगरपालिका–७ कोलाँछेका चनु घुल्लुमा बेग्लै खुशी छ। दैनिक काम गरेर गुजारा चलाउने घुल्लुको काम लकडाउनका कारण कागज र कपास नपाएपछि प्रभावित भएकोे थियो।
उक्त कामबाट कमाएको मासिक रु छ/सात हजारले घर खर्च चलाउँदै आएका उनले राहत बुझेपछि भने, “यति राहतले चार/पाँच दिनलाई भए पनि पुग्नेभयो, खुशी लाग्यो हाम्रो समस्यालाई बुझेर वडा कार्यालयको तर्फबाट राहत पाइयो।”
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन गरेपछि काम गर्न नपाएका निम्न आयस्तर भएका मजदुर, किसान र अशक्तलाई काभ्रेको पनौती नगरपालिका–७ ले राहत बाँडेपछि उनीहरु खुशी नहुने कुरै भएन।
सोही ठाउँका स्थानीय बासिन्दा विज्येश्वरी श्रेष्ठले आफूहरुले गर्दै आएको धूप बाट्ने काम बन्द भएपछि घर खर्च चलाउन समस्या भएका बेला नगरपालिका सारथी बनेकोे बताइन्।
“खेती किसानी काम केही छैन, त्यही कामबाट नै घर खर्च चलाउने हो”, उनले भने, “त्यो पनि बन्द भएपछि अहिले हामी त्यत्तिकै बस्नेबाहेक अरु विकल्प छैन ।”
पालिकाले वडा नं. ७ बाट शुरु गरेको राहत वितरण कार्यक्रमअन्तर्गत सो वडाका वडाध्यक्ष रामचन्द्र नास्नानीको नेतृत्वमा रातह वितरण गरिएको हो। उनले निम्न आयस्तर भएका परिवार, एकल र असहाय व्यक्तिको पहिचान गरी राहत वितरण गरिएको बताए।
वडा सदस्य पुरुषोत्तम कर्माचार्यका अनुसार वडाका १०५ परिवार, एकल र असहायलाई चामल, दाल, खानेतेल, नुन, चिनीलगायतका खाद्यन्न वितरण भएको छ। रोजगार गरी खानेहरु लकडाउनका कारण काम बन्द भएपछि केही भए पनि सहयोग पु¥याउने गरी राहत वितरण गरेको कर्माचार्यले बताए।
मङ्गलबार बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले खाद्यान्न वितरण गर्ने निर्णय गरेअनुरुप बुधबार त्यसरी वितरण भएको हो।
बनेपा नगरपालिका–७ ले पनि बुधबार नै वडाभित्रका १०० विपन्न परिवारलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ। वडाध्यक्ष वर्ष शाक्यको नेतृत्वमा सो राहत वितरण गरिएको हो।
यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ, बनेपा नगर कमिटीले दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारलाई केही भए पनि राहत पुर्याउने उद्देश्यले २० परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
समितिका नगर इञ्चार्ज राजन अधिकारीका अनुसार दैनिक ज्यालादारी गरेर खानेहरु लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा एक बोरा चामल, दाल, नुन, तेल र साकुन वितरण गरेको इञ्चार्ज अधिकारीले बताए।
बन्दका कारण दैनिक ज्यालादारी खाने मजदुरलाई हातमुख जोर्नै समस्या भएको भन्ने कुरा सुन्नमा आएपछि सामाजिक सञ्चालमार्फत आह्वान गरेपछि त्यहाँ आएको प्रतिक्रियाका आधारमा उनीहरुको नाम, सम्पर्क नम्बर र कस्तो खालको समस्या हो, त्यसबारेमा यथार्थ बुझेर बुधबार इलाका प्रहरी कार्यालय बनेपाको अनुमतिमा प्रहरी प्रशासनकै रोहवरमा वितरण गरेको उनले बताए।
प्राप्त राहतले धेरै सहयोग पुग्ने बनेपा नगरपाकिला–६ बुडोल बस्दै आएका तेमाल गाउँपालिका–५ गिम्दीका अशक्त पूर्ण तामाङले बताए। चार वर्ष अगाडि वैदेशिह रोजगारको सिलसिलामा मलेशियामा रहँदा गाडीको ठक्करबाट घाइते भई हाल अशक्त अवस्थामा रहेका तामाङ श्रीमतीको हेरचाहमा जीवन बिताउँदै आए।
रोना भाइरसको कारण चीनसँगको व्यापार ठप्प भएपछि खर्च जुटाउन मुस्किल भएको बताए। “यस्तो समस्याको बेलामा हामीलाई सहयोग गर्नुभएकोमा धन्यवाद।” खुशी हुँदै पूर्णले भने, “कमाउन सक्ने अवस्थामा नभएकाले बन्दको बेलामा साथ पाउँदा निकै खुशी छु।”
बसपार्क नजिकै रहेको सैलुनमा काम गर्ने कामदार भारत बिहार घर भएका मजदुर अरुणकुमार ठाकुरले काम नभएपछि देनिक गुजारा चलाउनै गाह्रो भएको उनले बताए। मासिक रु १० हजार जति कमाउने गरेको बताउने उहाँले राहत पाएपछि धेरै राहत मिल्ने उनले भनाइ छ।
रोशीका कर्मचारीको सहयोग
सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रोशी गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट कट्टा गरी रु एक लाख ८८ हजार १२० जम्मा गरिएको छ।
गाउँपालिकाले सो रकम बुधबार कोषको खातामा जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए।
Facebook Comment