कोरोनाबाट पूरै सुरक्षित इटलीको एउटा गाउँ, स्थानीय भन्छन्–‘चमत्कारी पानी’ले बचायो
काठमाडौं। कोरोनाभाइरसका कारण इटलीमा १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । १ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । अहिले पूरै इटली निकै समस्याग्रस्त छ । स्वास्थ्य सेवा धर्मराएको छ र डाक्टरहरुले नै भाइरसका कारण ज्यान गुमाएका छन् । तर, त्यही इटलीमा एउटा गाउँ भने कोरोनाभाइरसबाट पूरै सुरक्षित छ । यहाँ कोरोनाभाइरसबाट कसैको मृत्यु हुनु त परको कुरा एक जना पनि संक्रमित छैनन् ।
मोन्ताल्दो तोरिनिज नामको यो ठाउँ इटलीको उत्तरी क्षेत्रको पियोदमेन्टको तुरीन शहरभित्र पर्छ । यहाँका स्थानीयहरु यो ठाउँको पानी र हावाका कारण कोरोनाभाइरस यहाँ नआएको विश्वास गर्छन् । द गार्डियनको समाचार अनुसार यहाँका स्थानीयले यो ठाउँको पानीलाई ‘चमत्कारी पानी’ मान्छन् । यहाँको पानीले सन् १८०० मा नेपोलियन बोनापार्टका सेनालाई भएको निमोनिया ठिक भएको विश्वास गरिन्छ यद्यपि यसको कुनै प्रमाणित साक्षी भने छैन । इतिहास अनुसार सन् १८०० को जून महिनामा नेपोलियनले यहाँ सैन्य क्याम्प स्थापना गरेका थिए ।
मोन्ताल्दो तोरिनिज भन्ने यो ठाउँ तुरिन शहरबाट मात्रै १९ किलोमिटर टाढा छ । तर, तुरिन शहरमा कोरोनाभाइरसबाट ३६०० भन्दा धेरै मानिसहरु संक्रमित भइसक्दा यो गाउँमा एक जना पनि संक्रमित भएका छैनन् । यो गाउँ पर्ने पियोदमेन्ट राज्यको हालत निकै दयनीय छ । यो राज्यमा ८ हजार २ सयभन्दा धेरै संक्रमित भइसकेका छन् । तर, मोन्ताल्दो तोरिनिजमा एक जना पनि संक्रमित छैनन् ।
पियोदमेन्टका मेयर सर्गेइ गियोतीले पनि यहाँको हावा र पानीको कारण नेपोलियनको सेना ठिक भएकोले यही कारण अहिले पनि यहाँका नागरिक सुरक्षित भएको हुन सक्ने बताए । सर्गेइका अनुसार यो गाउँका कैयौं मानिसहरु तुरिन शहर जान्छन् । तुरिन शहरमा ठूलो परिमाणमा संक्रमण फैलिएको छ तर यो गाउँका मानिसहरु शहरबाट फर्केपछि पनि स्वस्थ छन् ।
यद्यपि यो गाउँमा मास्क र सेनिटाइजर बाँडेर नागरिकलाई भाइरसबारे सचेत भने बनाइएको छ । यो गाउँमा ७२० नागरिकको बसोवास छ । मेयर सर्गेइका अनुसार यहाँका नागरिकको जीवनशैली निकै सामान्य र स्वस्थकर छ । यहाँका नागरिकले सरफाइमा निकै ध्यान दिने सर्गेइले बताए ।
Facebook Comment