फिल्डमा खटिने सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता दिइने
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरुलाई सरकारले ५० प्रतिशत दैनिक भत्ता दिने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई दैनिक भत्ता दिने भएको हो।
सुरक्षा निकायका प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर फिल्डमा खटिएका सुरक्षाकर्मीहरुलाई भत्ता दिन आग्रह गरेका थिए।
जोखिमपूर्ण काममा खटिएका सुरक्षाकर्मीहरुलाई प्रोत्साहन स्वरुप भत्ता दिनुपर्ने भन्दै प्रहरी महानीरिक्षकद्धय ठाकुर ज्ञावाली र शैलेन्द्र थापाले सरोकारवाला मन्त्रालयसँग छलफल गरेका थिए।
गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष खटिने प्रहरी कर्मचारीलाई तलबको आधा अर्थात् ५० प्रतिशत अतिरिक्त भत्ता दिने तयारी गरेको जनाएको छ।
नेपाल प्रहरीको एकतिहाइभन्दा बढी अर्थात् करिब ३० हजार जनशक्ति हाल कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष रूपमा फिल्डमा खटिएका छन् भने सशस्त्र प्रहरीका २० हजारभन्दा बढी कर्मचारी यसमा खटिएका छन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजीपी ठाकुरप्रसाद ज्ञवाली सशस्त्र प्रहरी शैलेन्द्र खनाल तथा प्रहरी सशस्त्र प्रहरीका उच्च अधिकारीबीच भएको छलफलमा सुरक्षाकर्मीलाई समेत दैनिक भत्ता दिने सहमति थियो।
सरकारले संक्रमणविरुद्ध प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत तथा उनीहरूलाई सहयोग गर्ने प्राविधिक टोलीलाई तलबको ७५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले कोरोना संक्रमणविरुद्ध पहिलो पंक्तिमा रोकथाम तथा उपचारका लागि खटिने स्वास्थ्यकर्मीले सतप्रतिशत, स्वास्थ्यकर्मीलाई दोस्रो घेराबाट सहयोग गर्ने प्राविधिकले ७५ प्रतिशत र तेस्रो घेरामा रहेकाले ५० प्रतिशत भत्ता पाउने निर्णय सरकारले गरिसकेको बताए।
सोहीअनुसार सुरक्षाकर्मीलगायत अन्य कर्मचारीलाई समेत दैनिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सीमा नाका र अन्य क्षेत्रमा जोखिम मोलेका सुरक्षाकर्मीहरुले पनि भत्ता पाउने भएका छन्।
‘प्रहरीले फिल्डमा खटिने प्रहरी कर्मचारीका लागि पिपिई, स्यानिटाइजर तथा मास्क आदि विना नै खटिनु परेको , कपडाको मास्क लगाएर खटिएकोले बढी नै जोखिम रहेकाले उनीहरुलाई भत्ता दिइएको हो’, मन्त्रालय स्रोतले भन्यो ।
प्रहरी प्रधानकार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले पनि फिल्डमा खटिने सुरक्षाकर्मीलाई भत्ताको प्रस्ताव गरिएको जानकारी दिए। ‘गृहमन्त्रालयमा हामीले फिल्डमा सुरक्षाकर्मीहरुको विषयमा भत्ता दिनुपर्छ भनेका छौ’, उनले भने ।
यसैबीच, नेपाल प्रहरीले कोरोना नियन्त्रणमा खटिने प्रहरी कर्मचारीका लागि आवश्यक मास्क, स्यानिटाइजर तथा पर्सनल प्रोटेक्भिट इक्विपमेन्ट (पिपिई) आफैँ तयार पार्ने प्रस्ताव गरेको छ ।
सरकारले संक्रमित क्षेत्रमा खटिने स्वास्थ्यकर्मी तथा प्राविधिकका लागि संक्रमणबाट बच्न एन–९५ मास्क, प्रोटेक्टिभ गगल्स, इन्फ्रारेड थर्मो्मिटरलगायतका सामग्री सीमित संख्यामा विदेशबाट खरिद गरेको भए पनि ती सामग्री प्रहरीसम्म आउने सम्भावना निकै कम भएकाले आफै उत्पादन गर्ने प्रस्ताव गरेको हो।
प्रहरीले फिल्डमा खटिने प्रहरी कर्मचारीका लागि पिपिई, स्यानिटाइजर तथा मास्क आफैँ उत्पादन गर्ने गृहकार्य सुरु गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा यी सामान तयार गर्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ।
‘सरकारले खरिद गरेको सामान प्रहरी समक्ष निकै थोरै मात्र आउने संभावना छ त्यसकारण आफ्नै होजियारीमा यी सामान उत्पादन गर्ने प्रस्ताव गरेका छौ’, प्रधानकार्यालय स्रोतले भन्यो।
Facebook Comment