अर्थतन्त्रमा पर्ने प्रभाववारे विज्ञहरुसँग छलफल, बजेटलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रीत गर्न सुझाव
काठमाडौं । कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा दुरगामी असर पर्ने आंकलन भइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले योजनाविद्धहरुसँग छलफल गरेका छन् ।
कोरोनाको संक्रमण र रोकथामका लागि सरकारले चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा शुक्रबार राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँग छलफल भएको हो ।
छलफलमा सहभागीहरुले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा सरकारलाई उत्पादनमुलक क्रियाकलाप वृद्धि हुने गरी नीति, कार्यक्रम र बजेट केन्द्रीत गर्न सुझाव दिए ।
योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले कोरोनाका कारण विश्व अर्थतन्त्रमा नै समस्या देखिने भन्दै अब स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने वताए ।
छलफलमा आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीका साथै आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, सदस्यहरु, अर्थ सचिव, राजस्व सचिव र राष्ट्रिय योजना आयोगका सचिवलगायतको सहभागिता थियो ।
छलफलमा सहभागि विज्ञहरुले तत्कालका लागि न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पु¥याउन ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिए । यस्तै सामाजिक सुरक्षामा ध्यान दिदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिहरुको मनोवल बढाउनुपर्ने, आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने, मितव्ययिताको नीति अबलम्वन गर्नुपर्ने तथा खरिद बिक्री पारदर्शी बनाउनु पर्ने लगायतका सुझाव दिए ।
छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताए । उनले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी सक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पु¥याउने कामलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको जानकारी दिदै उनले नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र बिदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कुटनीतिक तहमा पहल भएकोे समेत स्पष्ट पारे । ‘कोरोना संक्रमण रोक्न जो जहाँ छौं त्यही बस्ने नै सबै भन्दा उत्तम उपाय हो ।’ उनले भने ।
मन्त्री खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गरिने समेत जानकारी दिए ।
Facebook Comment