प्रदेश काेराेना सङ्कट व्यवस्थापन समिति गठन
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड सङ्कट व्यवस्थापन समिति गठन गरिएको छ । मुख्यमन्त्री कार्यालयको अनुसार प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कार्यहरुलाई व्यवस्थित र प्रभावकारी संयन्त्रको कार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यदिशाअनुसार समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री, प्रमुख सचिव, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य रहेको कार्यालयले जनाएको छ ।
यसैगरी समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातारवण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवहरुलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिवलाई सदस्यसचिबमा मनोनीत गरेका छन् ।
सो समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु सहज व्यवस्थापन गर्ने जनाइएको छ । अत्यावश्यक सेवाको आपूर्तिको व्यवस्थापन र अनुगमन गर्ने, आवश्यक पर्ने जनशक्तिको व्यवस्था गर्ने, अस्पतालहरुको मापदण्डअनुसारको आइसोलेशन र आइसियूको व्यवस्था गर्ने, मापदण्डअनुसारको क्वारेन्टाइनको निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्ने बताइएको छ ।
Facebook Comment