सरकारको अनुरोध नटेरी विमान चार्टर गरेर घुम्न गए, फर्किंदा ४४ जना कोरोना बोकेर आए
काठमाडौं। कोरोनाभाइरको फैलिँदो संक्रमणका बीच भीडभाडमा नजान र धेरै संख्यामा मानिसहरु जम्मा नहुन अधिकांश देशका सरकारहरुले आग्रह गरिरहेका छन् । तर, यही आग्रहलाई अटेर गर्दै विमान चार्टर गरेर ७० भन्दा बढी विद्यार्थीहरु घुम्न गए । फर्केर आउँदा उनीहरुमध्ये ४४ जना संक्रमित पाइएका छन् । यसरी सरकारको आग्रह अटेर गर्दै घुम्न निस्किने विद्यार्थीहरु अमेरिकाका हुन् ।
सिएनएनको समाचार अनुसार यहाँ करिब २ हप्ता पहिले १० जनाभन्दा धेरै मानिसहरु एकै ठाउँमा जम्मा नहुन सरकारले आग्रह गरेको थियो । सरकारले नागरिकलाई अत्यन्तै आवश्यक नभए यात्रा नगर्न पनि अपिल गरेको थियो । तर अमेरिकाको टेक्ससका यी युवा विद्यार्थीहरुले सरकारको आग्रहलाई बेवास्ता गर्दै घुम्न निस्किए । उनीहरु मेक्सिकोमा विदा मनाउन गएका थिए । मेक्सिकोमा विदा मनाएर फर्केपछि गरिएको परीक्षणमा उनीहरुमध्ये ४४ जना संक्रमित पाइएका हुन् ।
संक्रमित पाइएको सबै ४४ विद्यार्थी टेक्सस युनिभर्सिटीका भएको समाचारमा उल्लेख छ । उनीहरुले चार्टर्ड विमानमा यात्रा गरेका थिए । टेक्स राज्यका प्रवक्ता डेनिस बोनेनले भने ‘तपाइँलाई लाग्दो हो कि कोरोनाभाइरस तपाइँसँग सम्बन्धित मुद्दा होइन तर वास्तवमा हो । तपाइँलाइ लाग्न सक्छ कि यसले तपाइँलाई प्रभावित गर्दैन तर वास्तवमा गर्छ । कलेजका विद्यार्थी मेक्सिकोमा गएर विदा मनाइरहेका छन् भने उनीहरु अरु मानिसहरुलाई पनि प्रभावित गरिरहेका छन् ।’
यद्यपि चार्टर्ड विमानबाट मेक्सिको गएका यी छात्रहरुले फर्कने क्रममा भने केहीले व्यवसायिक विमानमा पनि यात्रा गरेका थिए । अब अधिकारीहरुलाई यो चिन्ताले सताइरहेको छ कि व्यवसायिक उडानमा यात्रा गर्नेहरु पनि संक्रमित हुन सक्छन् । स्थानीय अधिकारीका अनुसार संक्रमितका साथै यात्रा गर्ने अन्य यात्रीहरुको पनि निगरानी गरिएको छ ।
Facebook Comment