सर्वसाधारणका लागि चामल बिक्री खुला

वीरगञ्ज । लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आइतबारदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ ।
पहिले नेपालभर रहेका कारागार तथा पहाडी जिल्लामा मात्र मागअनुसारको चामल पठाउने गरिएकामा विभागको निर्देशनानुसार लकडाउनलाई ध्यानमा राखी आजदेखि सर्वसाधारणका लागि चामल बिक्री खुला गरिएको सो कार्यालयका शाखा प्रमुख नरनाथ अधिकारीले बताए।
सो कार्यालयले अहिले सर्वसाधारणलाई जापानी चामल प्रतिकिलो ४७तथा सोना मन्सुली चामल प्रतिकिलो ४६ मा उपलब्ध गराउँदै आएको छ । सो कार्यालयसंँग हाल सोना मन्सुली ९० क्विन्टल ८० केजी तथा जापानी चामल करीब ११ हजार मौज्दात छ । सोना मन्सुली धान १४ हजार ८ सय ९४ दशमलव ५६ क्वीन्टल र जीरा मसिनो धान ३२ क्वीन्टल २५ केजी मौज्दात रहेको सूचना अधिकारी मुनिलाल कुशवाहले जानकारी दिए ।
लकडाउनका समयमा सर्वसाधारणलाई राहत वितरण गर्न सो कार्यालयमा वीरगञ्ज महानगरपालिकाले ५ हजार क्वीन्टल सोना मन्सुली चामल माग गरेका जापानी चामल लग्न भनिएपछि लगिएको छैन ।
जापान सरकारले चालु आर्थिक वर्षमा नेपाल सरकारलाई ५० हजार क्वीन्टल चामल अनुदान दिएकामा वीरगञ्ज शाखालाई १५ हजार क्वीन्टल जापानी चामल प्राप्त भएको हो । लकडाउनका समयमा सर्वसाधारणलाई खाद्यान्न समस्या भइरहेको बेला सरकारले खुद्रा मूल्यमा चामल बिक्री शुरु गरेपछि दैनिक ज्यालादारी गरी गुजारा चलाउनेहरुलाई वरदान सावित भएको वीरगञ्जवासी बताउँछन् ।
Facebook Comment