‘म कोरोनाभाइरस संक्रमित हुँ, जानीजानी अरुलाई पनि भाइरस सारिरहेकी छु’

डिसी नेपाल
२४ चैत २०७६ १३:४५

काठमाडौं। १८ वर्षकी एक किशोरीले सामाजिक संजालमा भिडियो अपलोड गरेर आफू कोरोनाभाइरस संक्रमित भएको र अरुलाई पनि जानीजानी भाइरस सारिरहेको दावी गरेकी छिन् । यी किशोरी अमेरिकाको टेक्सस राज्यको क्यारोल्टन शहरकी भएको माइटेक्ससडेलीको समाचारमा उल्लेख छ । भिडियो सार्वजनिक भएपछि पुलिसले यी किशोरीको खोजी गरिरहेको छ । सामाजिक संजालमा भिडियो भाइरस भएपछि स्थानीय पुलिसले ट्वीट गर्दै यसबारे जानकारी दिएको छ ।

पुलिसका अनुसार यी किशोरीको पहिचान भइसकेको छ तर उनलाई पक्राउ गर्न बाँकी छ । पुलिसका अनुसार भिडियोमा आफू संक्रमित भएको र जानीजानी अरुलाइ संक्रमित गरिरहेको दावी गर्ने किशोरीको नाम लरेन माराडिआगा हो । लरेनमाथि आतंक फैलाएको अभियोगमा मुद्दा चलाइने पुलिसले जनाएको छ । पुलिसले आम मानिसहरुलाई लरेनबाट धेरै खतरा छ कि छैन भन्ने कुराको भने पुष्टि हुन नसकेको जनाएको छ किनकि लरेन सााच्चै संक्रमित हुन् वा त्यसै हल्ला फैलाएकी हुन् भन्ने खुलासा भइसकेको छैन ।

यद्यपि लरेनले यसरी धम्की दिएपछि भने कारवाही गम्भीर रुपमा अगाडि बढाइएको छ । पुलिसले लरेनको गिरफ्तारीको लागि आम नागरिकसँग अपिल गरेको छ । पुलिसले लरेनको बारेमा कुनै जानकारी भए आफूहरुसँग साझा गर्न आम नागरिकलाई आग्रह गरेको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख ३६ हजार नाघिसकेको छ । ९ हजार ६ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *