कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोन्सन आईसीयूमा भर्ना
लन्डन । कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले प्रधानमन्त्री जोन्सनलाई अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको जानकारी दिए ।
बेलायतको एलबिसी रेडियोलाई अन्तर्वार्ता दिँदै गभले भने, “प्रधामन्त्रीलाई अक्सिजन दिइएको छ । स्वास्थ्य अवस्था विचार गरी आवश्यक भएमा भेन्टिलेटरमा राखिनेछ ।” विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेमध्ये प्रधानमन्त्री जोन्सन सबैभन्दा उच्चपदस्थ राजनीतिज्ञ हुन् ।
कोरोनाभाइरसको संक्रमण भएदेखि नै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन एकान्तबास (आइसोलेसन)मा बसेका थिए । तर उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री जोन्सनलाई विगत १० दिनदेखि उच्च ज्वरो र सुक्खा खोकी समेतका कोरोनाभाइरसका लक्षणहरु देखिएका थिए । सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि प्रधानमन्त्री होसमै रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री जोन्सनले सरकारका तर्फबाट गर्नुपर्ने कार्यहरु सम्पादन गर्न विदेशमन्त्री डोमिनिक राबलाई जिम्मेवारी दिएका छन्। तर विदेशमन्त्री राबले आफूले प्रधानमन्त्रीसँग गत शनिबारदेखि कुराकानी गर्न नपाएको स्पष्ट गरेका छन् । तर उनले “सरकारी कामकारबाही यथावत र बिना अवरोध रहनेछन्” भने ।
विदेशमन्त्री राबले प्रधानमन्त्रीको उपचारमा कुनै कमी नभएको र उपचारमा उत्कृष्ट चिकित्सा टोली संलग्न रहेको बताए ।
Facebook Comment