कोरोनाको ‘गेमचेन्जर’ औषधी भारतले १ महिनामा २० करोड बनाउन सक्छ, नेपाललाई फाइदा के ?

डिसी नेपाल
२६ चैत २०७६ ९:४५

काठमाडौं। पछिल्लो समय कोरोनाभाइरसको उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ नामको औषधी प्रयोग गरिनुपर्ने विषयमा धेरै चर्चा बढेको छ । विश्वभरका कैयौं डाक्टरहरुले यो औषधी आफूले उपचारमा प्रयोग गरिरहेको र प्रभावकारी देखिएको बताएका छन् । विश्वभरका कूल डाक्टरको करिब ३७ प्रतिशत डाक्टरहरुले यो औषधी प्रयोग गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त बिरामीहरुलाई यो औषधी प्रयोग गर्न सुझावसमेत दिन थालिसकेका छन् ।

खासमा यो औषधी औलो अर्थात मलेरियाको उपचारमा प्रयोग हुने औषधी हो । वर्षेनी औलोको ठूलो प्रकोप फैलिरहने र जनसंख्या पनि अत्यन्तै धेरै भएका कारण हाम्रो छिमेकी देश भारतमा यसको ठूलो मात्रामा उत्पादन हुन्छ । पछिल्लो तथ्यांकअनुसार विश्वमै सबैभन्दा धेरै हाइड्रोक्सिक्लोरोक्विन उत्पादन गर्ने देश भारत हो ।

यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले पनि भारतसँग यो औषधी मागेका थिए । ट्रम्पले मागेसँगै पहिले भारतले यो औषधी आफूसँग पर्याप्त स्टक नहुँदासम्म निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि ट्रम्पको दबाब बढ्दै गएपछि भारतले यसको निर्यातमा प्रतिबन्ध फुकुवा गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो औषधीलाई कोरोनाभाइरसको उपचारमा ‘गेमचेन्जर’ भनिसकेका छन् । अन्य डाक्टरहरुले पनि यसलाई प्रभावकारी भनेका छन् । यद्यपि केही विज्ञहरुले भने यो औषधी पूर्ण रुपमा ट्रायल नभइसकेकोले प्रयोग गर्दा खतरा हुन सक्ने चेतावनी पनि दिएका छन् ।

अहिले पूरै विश्वले यो औषधीलाई महामारीको बीचमा आशाको रुपमा हेरिरहेका छन् । यो औषधी विश्वभरी जति परिमाणमा खपत हुन्छ त्यसको ७० प्रतिशत भारतमा मात्र बन्छ । भारतले २०१९ को अप्रिलदेखि २०२० को जनवरीसम्म १.२२ बिलियन अमेरिकी डलर मूल्य बराबरको यो औषधी विदेश निर्यात गरेको थियो । इण्डियन फर्मास्युटिकल अलायन्सका महासचिव सुदर्शन जैनले इण्डिया टुडेसँग विश्वभर निर्यात हुने औषधीको ७० प्रतिशत भारतमै बन्ने बताएका थिए ।

दावीअनुसार भारतमा यो औषधी उत्पादन गर्ने क्षमता निकै प्रभावकारी छ । भारतले ३० दिनमा ४० टन यो औषधी बनाउन सक्ने बताइएको छ । यो परिमाणलाई २० मिलिग्रामका ट्याब्लेटमा परिणत गर्दा २० करोड ट्याब्लेट हुन आउँछ । भारतमा इप्का ल्याबोरेटरिज, जेडस क्याडिला, वेलेस फर्मास्युटिकल्स लगायतका कम्पनीहरुले यो औषधी ठूलो परिमाणमा उत्पादन गर्छन् । भारतको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जेडल क्याडिला र इप्का ल्याबोरेटरिजलाई १० करोड ट्याब्लेट बनाउन अर्डर दिइसकेको बताइएको छ ।

यौ औषधीले कोरोनाभाइरसको उपचारको लागि औपचारिक मान्यता पाइसकेको छैन यद्यपि अत्याधिक प्रकोप भएका क्षेत्रमा यो औषधी प्रयोग गर्न अनुमति दिइएको छ । यो औषधीले कोरोनाभाइरसको उपचारमा प्रभावकारी परिणाम दिइरहेकोले यसले उपचारमा सघाउने विश्वास गर्न सकिन्छ । अबका दिनमा यसको परिणामा राम्रो देखिँदै गएका यले ठूलो मात्रामा उपचारमा सहयोग गर्नेछ ।

भारत नेपालसँग जोडिएको देश भएको र नेपालमा उत्पादन हुने बाहेकका औषधीहरु भारतबाटै नेपाल आउने भएकोले भारतले यो औषधी नेपाललाई सहज मात्रामा उपलब्ध गराउने विश्वास गर्न सकिन्छ । यदि यो औषधीले प्रभावकारी काम गरेको खण्डमा नेपालमा समेत भारतबाट यो औषधी आयात गरी उपचार गर्न सक्छ । यो औषधीको मूल्य पनि धेरै छैन । भारतीय अनलाईन सपिङ पोर्टलमा यो औषधीको २०० मिलिग्रामका १५ ट्याब्लेटको एक स्ट्राइपको मूल्य करिब १ सय भारु उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *