विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदान रोक्ने ट्रम्पको धम्की
वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको अनुदार रोकिदिने धम्की दिएका छन् । विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको आरो लगाउँदै राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिएका हुन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले स्वास्थ्यसम्बन्धी गलत सुझाव दिएको र चीनतर्फ बढी जोड दिएको आरोप लगाए ।
उनले डब्लूएचओलाई अमेरिकाले धेरै सहयोग गर्दै आएको भए पनि चीनतर्फ केन्द्रित भएको र चीनको पक्ष लिएको आरोप लगाएका छन् । उनले डब्लूएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनीसमेत दिएका हुन् । विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले चेतावनी दिँदै भने, ‘डब्लूएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’
अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । तर ट्रम्पले भने विश्वमा धेरै संक्रमित भएको देश अरु नै कुनै रहेको बताएका हुन् । ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको आरोप लाग्दै आएको छ । ट्रम्पले गठन गरेको टास्क फोर्सले अमेरिकामा दुई लाख ४० हजार मानिसको मृत्यु कोरोना महामारीले हुने बताइएको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १२ हजार ८५४ जनाको मृत्य भएको छ भने चार लाख ४१२ संक्रमित भएका छन् ।
Facebook Comment