कोरोनाको औषधी भनेर ‘विष’ पिउँदा ६०० जनाको मृत्यु, ३ हजार जना अस्पताल भर्ना
काठमाडौं। कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा यसको उपचारको लागि पनि विभिन्न औषधीहरुको परीक्षण गर्न थालिएको छ । पछिल्लो समय डाक्टरहरुले अन्य रोगको उपचारको लागि प्रयोग गरिने केही औषधीहरुलाई पनि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न थालेका छन् । तर, इरानमा भने कोरोनाभाइरसको औषधी भन्दै यस्तो रसायनको बारेमा प्रचार गरियो जसका कारण ६ सय जनाभन्दा धेरैले ज्यान गुमाउनुपरेको छ ।
इरानमा अहिलेसम्म कोरोनाभाइरसको कारण ३ हजार ८ सय जनाको ज्यान गएको छ । तर, यही देशमा विषालु अल्कोहल पिउँदा ६ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । यो अल्कोहलका कारण ३ हजार जनाभन्दा धेरै अस्पताल पुगेका छन् । डेलिमेलको रिपोर्टअनुसार मंगलबार इरान सरकारका एक प्रवक्ता घोलम हुसैनी इस्माइलीले यहाँका नागरिकहरुले कोरोनाभाइरसको औषधी सम्झेर ‘नीट’ अल्कोहल पिएको बताएका छन् ।
यो अल्कोहलका कारण यहाँ ठूलो संख्यामा मानिहरु बिरामी भए । इस्माइलीका अनुसार विषालु अल्कोहल पिएका कारण ज्यान गुमाउनेहरुको संख्या निकै धेरै छ । यो संख्या आफ्नो आशंकाभन्दा पनि धेरै भएको उनले बताए । उनले भने ‘अल्कोहल पिएर रोग ठिक हुँदैन बरु यो उल्टै प्राणघातक हुन सक्छ ।’ तस्निम न्यूजसँग कुरा गर्दै उनले यो मामिलामा कैयौं व्यक्तिहरुलाई गिरफ्तार गरिएको पनि बताएका छन् । उनीहरुविरुद्ध आपराधिक गतिविधिको लागि मुद्दा चलाइने उनले बताए ।
कोरोनाभाइरसका कारण इरानमा ६२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । तर, इरानको तर्फबाट कोरोनाभाइरसका विषयमा जारी गरिएका तथ्यांकमाथि प्रश्न उठिरहेका छन् । सरकारले मृतकको संख्या कम गरेर देखाएको आरोप लागेको छ । इरानको संसदका कम्तीमा ३१ सदस्य पनि संक्रमित भेटिइसकेका छन् । कोरोनाभाइरसको प्रकोपका कारण संसद बन्द गरिएको थियो जुन मंगलबारदेखि पुनः सुचारु गरिएको छ । विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या १४ लाख ३२ हजार नाघिसकेको छ । विश्वभर मृत्यु हुनेको संख्या ८२ हजारभन्दा धेरै भइसकेको छ ।
Facebook Comment