नेपालमा कोरोनाभाइरसबाट मृत्युदर धेरै कम हुने प्रख्यात विश्वविद्यालयको अध्ययनको संकेत

डिसी नेपाल
२६ चैत २०७६ १५:०४

काठमाडौं। नेपालमा कोरोनाभाइरसबाट संक्रमित भएपछि मृत्यु हुनेको अनुपात युरोपेली देशहरुको तुलनामा धेरै कम हुने प्रसिद्ध अमेरिकी विश्वविद्यालयको अध्ययनले संकेत गरेको छ । अमेरिकी शोधकर्ताहरुको एक अध्ययनले जुन देशहरुमा बीसीसी (बेसिलस क्यालमेट गुएरिन) खोपको ठूलो मात्रामा प्रयोग गरिएको छ ती देशहरुमा कोरोनाभाइरसको संक्रमणबाट हुने मृत्युदर अन्य देशहरुको तुलनामा ६ गुणा कम पाइएको छ । जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका विशेषज्ञहरुले यो अध्ययन गरेका हुन् । यी नतिजाहरुलाई आर्काइभ साइट मेडरिक्सिभमा प्रकाशित गरिएको छ । स्वास्थ्य विशेषज्ञको समीक्षापछि यसलाई मेडिकल जर्नलमा प्रकाशित गरिनेछ ।

शोधकर्ताहरुको पूरा शोधपत्र तल पढ्नुहोस् –

बीसीजी खोपले क्षयरोग (ट्युबरकुलोसिस) विरुद्ध रोग प्रतिरोधी क्षमता विकास गर्छ । टीबी ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । डेलीमेलको रिपोर्टअनुसार सुरुवाती परीक्षणमा जो व्यक्तिहरुलाई बीसीजी खोप दिइएको छ उनीहरुको रोग प्रतिरोधी क्षमता बढी हुने र उनीहरु अन्य व्यक्तिहरुको तुलनामा स्वयंलाई संक्रमणविरुद्ध धेरै सुरक्षित राख्न सक्ने पाइएको छ । उदाहरणको लागि अमेरिकीहरुमा गरिएको एक परीक्षणमा सानैमा दिइएको बीसीजी खोपले टिबीविरुद्ध ६० वर्षको उमेरसम्म प्रतिरक्षा गर्ने पाइएको छ ।

नेपालमा बीसीजी खोपको प्रयोग आज पनि व्यापक मात्रामा हुन्छ । नेपालमा बि.सं. २०३४ सालदेखि राष्ट्रिय रुपमा खोप दिने कार्यक्रम संचालन भएको थियो । यद्यपि यसअघि पनि नेपालमा खोप दिने प्रचलन थियो । त्यतिबेलादेखि नै नेपालमा बीसीजी खोपको प्रयोग भइरहेको छ र आज पनि बालबालिकालाई बीसीजी खोप दिइन्छ । नेपालबाहेक भारत र अफ्रिकी देशहरुमा पनि बीसीजी खोपको प्रयोग अहिले पनि नियमित खोपकै रुपमा भइरहेको छ । अहिलेसम्म कोरोनाभाइरसको संक्रमण र मृत्युदर पनि यी सबै बीसीजी खोप नियमित रुपमा प्रयोग हुने देशहरुमा निकै कम देखिएको छ । यद्यपि बीसीजी खोप लगाउनेहरुको कोरोनाभाइरस संक्रमणबाट मृत्युदर कम भएको पाइए पनि यसबाट संक्रमणको खतरा कम हुने कुनै तथ्य भने भेटिएको छैन ।

बेलायतमा स्कुले बालबालिकाहरुलाई १९५३ देखि २००५ मा व्यापक मात्रामा खोप दिइएको थियो । जब टीबीको संक्रमणमा कमी आयो त्यसपछि ठूलो मात्रामा खोप दिन बन्द गरियो । २००५ देखि केवल गम्भीर खतरा भएको अवस्थामा मात्र खोप दिन थालियो । शोधकर्ताहरुले बीसीजी खोपबाट रोग प्रतिरोधी क्षमता चार्ज हुने र कोरोनाभाइरसले शरीरमा आक्रमण गर्नुभन्दा पहिल्यै यसको पहिचान गरेर यसलाई नष्ट गर्ने अपेक्षा गरेका छन् ।

यो अध्ययनमा देशको सम्पन्नता र देशको कूल जनसंख्यामा वृद्धहरुको संख्या जस्ता कारक तत्वलाई पनि ध्यान दिइएको छ । यसका अलावा अध्ययनमा कुनै पनि देशमा १० लाख जनसंख्यामा मृत्युदर कति छ भनेर पनि हेरिएको छ । शोधकर्ताहरुले यी सबै कारक तत्वहरुका बावजुद बीसीजी लगाइएका क्षेत्रमा मृत्युदर कम भएको तथ्य स्पष्ट देखिएको बताएका छन् ।

सबैभन्दा रोचक त के भने कोरोनाभाइरसका कारण गरिब देशमा मृत्युदर निकै कम देखिएको छ भने धनी देशमा मृत्युदर अत्यन्तै उच्च छ । अध्ययनका अनुसार कम आय भएका देशमा प्रति १० लाख मानिसमा ०.४ जना मानिसको मात्र मृत्यु भएको छ । मध्यम आय भएका देशमा प्रति १० लाखमा ०.६५ जनाको मृत्यु भएको छ । उच्च आय भएका धनी देशहरुमा भने प्रति १० लाख मानिसहरुमा ५.५ जना मानिसहरुको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । अर्थात समृद्ध र विकसित देशमा कोरोनाभाइरसका कारण मृत्युदर धेरै छ ।

शोधकर्ताहरुले कोभिड १९ बाट ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई धेरै खतरा भएको र गरिब देशहरुमा धेरैजसो नागरिक युवा भएको उल्लेख गरेका छन् । शोधकर्ताहरुले कैयौं कारक तत्वहरुको अध्ययन गर्न बाँकी नै भएको उल्लेख गरेका छन् । यद्यपि बीसीजी खोप र आर्थिक स्थितिसँग कोरोनाभाइरसको सम्बन्ध ध्यान दिइनुपर्ने पक्ष भएको उनीहरुले बताएका छन् । विश्वभर कोरोनाभाइरससँग लड्न बीसीजी भ्याक्सिनको भूमिकाका विषयमा पनि परीक्षण भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *