सीमा कडाई, चोरबाटोमा सुरक्षाकर्मीको निगरानी

डिसी नेपाल
२६ चैत २०७६ १५:५९

काठमाडौं। कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरेको छ। भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा घोषित तथा अघोषित सबै नाकामा प्रहरीको उपस्थिति रहेको छ।

घोषित नाका बन्द भएपछि लुकेर अघोषित नाकाबाट मानिसहरु नेपाल प्रवेश गर्न थालेपछि सम्बन्धित जिल्लाहरुले कडाई गरेका हुन्।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सबैप्रकारका नाकामा सरकारी उपस्थिति रहेको दावी गरे। ‘मूख्य नाका तथा छोटी नाकमा सरकारी उपस्थिति छँदैछ तर चोरबाटोबाट पनि प्रवेश गरेको समाचार आउन थालेपछि भने त्यहाँपनि प्रहरीको निगरानी र उपस्थिति बढेपछि अहिले सबै सीमा नाका बन्द भएका छन्’, मन्त्रालयका प्रवक्ता शर्माले भने।

उनका अनुसार सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पनि खटिएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार दुवै प्रहरीलाई जिल्लाका विभिन्न भागमा खटाएको छ।

भारतको युपीसँग सीमा जोडिएका बाहेक नेपाल भारतबीच काकरभिट्टा, विराटनगर वीरगंज र भीममदत्त नगरमा ठूला भन्सार नाका छन्।

त्यस्तै पशुपतिनगर, गौरीगञ्ज, रंगोली, भान्टावारी, जनकपुर, जलेश्वर, मलंगहवा, गौर, ठोरीमा पनि छोटी भन्सार नाका रहेका छन्। यहाँबाट पनि नेपालमा सहज रुपमा विदेशीहरु नेपाल प्रवेश गर्न पाउँछन्। त्यसकारण पनि सकारले सबै प्रकारका चोरबाटोमा पनि प्रहरीको गस्ती र निगरानी बढाएको छ।

कैलालीको त्रिनगर, गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, दार्चुला तथा दुइ नं प्रदेशका ८ जिल्ला, पूर्वमा मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती जिल्लाहरुबाट खुला सीमाका कारण भारतबाट नेपाल तर्फ नागरिकहरु आवतजावत गर्ने भएकाले कडाई गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुम्न कार्कीले दिएको जानकारी अनुसार नेपाल भारत सीमानाकामा थप कडाइ यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको छ।

सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको उनले बताए। लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो। भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ।

उनका अनुसार लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ। कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ शैय्या, १७ वटा अस्पतालमा १६२ आइसोलेसन शैय्या र १९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ।

खुला सीमामा आवागम पूर्ण रुपमा रोक्न ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। ८२ किलोमिटर सीमामा पूर्ण रुपमा आवागमन रोक्न सशस्त्र प्रहरी परिचालन भएको हो।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा र सुनौली बाहेक सवै नाका बन्द गरेपछि भारतको पश्चिम बंगालको रानीगञ्ज नाकासँग जोडिएको नेपालको काँकरभिट्टा नाकामा चेकजाँचमा कडाई गरेको थियो।

अहिलेसम्मकै व्यवस्थित तथ्यांक समेत राखेको काँकरभिट्टा नाका भारतको रानीगञ्ज नाकासँग जोडिएका कारण शुरु देखिनै सर्तक रहेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाका अनुसार नेपाल भारत सीमा नाकामा कडाई गरिएको छ। हरेक नगरपालिका र गाउँपालिकामा नयाँ व्यक्ति प्रवेशको तथ्यांक संकलन समेत गरिएको छ। जनप्रतिनीधिहरुले पनि अहिले सहयोग गरिरहेको झापा प्रहरीले जनाएको छ

एसपी कोइरालाका अनुसार ९ जना प्रहरी नीरिक्षकको कमाण्डमा गौरीगन्जसम्म नाका कडाई गर्नका प्रहरी परिचालन गरिएको छ। सीमा अहिले भैरहेको भन्दा १ सय ५० भन्दा सुरक्षाकर्मी खटिएको झापाका एसपी कोइरालाले बताए।

‘यसपछि सबै चोरबाटो बन्द हुन्छन, हामीले सीमा निगरानी समूह भनेर स्वंयसेवक पनि खटाउदै छौं’, उनले भने। थप तीन स्थानमा बेस क्याम्प पनि राख्न लागिएको एसपी कोइरालाले जानकारी दिए। सशस्त्र प्रहरीले पनि यसैगरी सीमा क्षेत्रमा कडाइ गरिरहेको छ।

त्यसैगरी बर्दियामा पहिलेदेखि सीमामा प्रहरीले कडाइ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए।

‘सीमा सुरक्षा थप प्रभावकारी बनाउँन थप प्रहरी परिचालित गरिएको हो।’ यता, सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका यूनिटले कडाईका साथ सीमा आवामन रोक्न लागि परेको छ।‘नेपाल प्रहरीका यूनिटले सीमामा निगरानी बढाईरहेको छ,’ बर्दियाका एसपी राजेश नाथ वास्तोलाले भने, ‘लुकिछिपि नेपाल छिर्नेलाई सयौं जना प्रहरीले क्वारेन्टाइनमा ल्याएर राखिएको छ।’

उनका अनुसार सुदुरपश्चिममा कोरोना संक्रमण पुष्टि भएसँगै अन्तर जिल्ला र एक देखि अर्को पालिका प्रवेशमा समेतपूर्ण रुपमा प्रहरीले रोक लगाएको छ।

कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार अहिले नेपाल भारत छिर्ने सबै नाका बन्द भएका छन्। खुला सीमानाका कारण जुनसुकै स्थानबाट पनि नेपाल प्रवेश गर्नसक्ने भएकाले प्रहरीले ती सबै क्षेत्रमा निगरानी बढाएको उनले बताए।

यसबाहेक सीमा नाका रहेका दुबै देशका सुरक्षा अधिकारीहरुले समन्वय पनि गरिरहेका छन्। नाकालाई कसरी व्यवस्थित रुपमा कडाई गर्ने भन्ने विषयमा छलफल समेत भैरहेको र दुवै तर्फबाट चोर बाटो बन्द गर्ने काममा सुरक्षा अधिकारीहरु लागि परेको गृहमन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *