कोरोनाभाइरसः चीनको सुपर कम्प्युटरले गर्‍यो यस्तो खुलासा, भड्कियो अमेरिका

डिसी नेपाल
२७ चैत २०७६ १५:०४

काठमाडौं। कोरोनाभाइरसको उद्गम स्थललाई लिएर अमेरिका र चीनबीच अहिले पनि विवाद जारी छ । पछिल्लो समय चीनको एक सुपर कम्प्युटरले अमेरिकाको अस्पतालमा गत वर्ष भेटिएको रहस्यमय निमोनिया कोरोनाभाइरस संक्रमण हुन सक्ने फेला पारेको छ । तियानजिनस्थित नेशनल सुपर कम्प्युटर सेन्टरको तियान–१ कम्प्युटरले २०१९ को जुलाइ महिनामा गम्भीर रुपमा बिरामी भएका एक अमेरिकी सिएटी (कम्पयुटराइज्ड एक्सियल टोमोग्राफी) स्क्यानको इमेज निकालेको छ ।

चीनको सुपरकम्पयुटरको स्क्यानको आधारमा ती बिरामी कोरोनाभाइरसबाट संक्रमित भएको प्रबल सम्भावना जनाइएको छ । रिपोर्टका अनुसार बिरामीका दुवै फोक्सोको तल्लो भागमा सेता प्याच पाइएका छन् । यस्तै किसिमका कैयौं लक्षणहरुले रेडियोलोजिस्टलाई चकित पारिदिएका छन् किनकि यी लक्षणहरु निमोनियामा देखिँदैनन् । आर्टिफिसियल इन्टेलिजेन्सको रिपोर्ट अनुसार इमेजमा कोभिड १९ का केही फिचरहरु देखिएका छन् । जसका कारण महामारीसँग सम्बन्धित जानकारीहरु र अन्य क्लिनिकल टेस्टसँग मिलाएर निदान गर्न सुझाव दिइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार यी बिरामी नर्थ क्यारोलिनाको वेकमेड अस्पतालमा एकसाथ भर्ना भएका ५ बिरामीमध्ये एक थिए जसको फोक्सोको हालत गम्भीर थियो । यी पाँचैजना बिरामीको उमेर १८ देखि ३५ वर्ष थियो । पाँचैजनाले सास फेर्न समस्या, उल्टी हुने, पेटमा बेचैनी र ज्वरो दस्ता लक्षण महसुस गरेका थिए । सीडीका अनुसार यीमध्ये ३ जनालाई आइसीयूमा पनि राख्नु परेको थियो । डाक्टरहरुले इन्फ्लुएन्जासहित अन्य रोगको पहिचानको लागि टेस्ट गरेका थिए तर सबै नेगेटिभ आएका थिए । यी सबै बिरामी पछि ठिक भएका थिए र उनीहरुलाई यो समस्या इलेक्ट्रोनिक चुरोटका कारण आएको मानिएको थियो ।

यी बिरामीको परीक्षण गर्ने टिमका सदस्य रहेका डा. केभिन डेभिडसनले भने सुपरकम्प्युटरको नतिजा खारेज गरेका छन् । उनले सिएटी इमेजमा देखिएका फिचर युनिक नभएको र अन्य संक्रमणमा पनि यस्ता फिचर देखिने भन्दै सुपरकम्पयुटरबाट कुनै गल्ती भएको हुन सक्ने बताएका छन् । उनले अन्य भाइरस संक्रमण, ड्रग स्मोकिङ, अटो इम्युन लंग डिजिज र प्रदूषित वातावरणमा आउँदा पनि यस्ता लक्षण देख्न सकिने बताएका छन् । उनले सुपरकम्प्युटरले पहिचान गरेका लक्षण कोभिड १९ सँगै भ्यापिङ (विद्युतीय चुरोट सेवन) मा पनि देखिन सक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *