वैज्ञानिकहरुले पत्ता लगाए ‘टार्गेट’ जहाँ ‘हिट’ गरेर कोरोनाभाइरस नियन्त्रण गर्न सकिनेछ
काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले मानव शरीरमा त्यो ‘टार्गेट’को खोजी गरेका छन् जहाँ कोरोनाभाइरसविरुद्धको एन्टिभाइरल औषधीले असर गर्नेछ र भाइरसलाई नियन्त्रण गर्नेछ । यसलाई कोरोनाभाइरसको उपचारको खोजीमा भइरहेका प्रयासमा ठूलो सफलता मानिएको छ । यसको सहयोगले अब औषधीलाई मानव शरीरको ठिक त्यही ठाउँमा असर गर्ने बनाउन सकिनेछ जुन ठाउँमा भाइरस टाँसिएर रहेको हुनेछ । यो खोजी अमेरिकाको कर्नेल विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन् । यो खोजीलाई विश्वविद्यालयले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले सबैभन्दा पहिले कोरोनाभाइरस अर्थात कोभिड १९ को संरचना र प्रकृतिको मिलान यसअघि फैलिएका भाइरसहरु सार्स र मर्सको संरचना र प्रकृतिसँग गरे । वैज्ञानिकहरु भाइरसको बाहिरी काँडेदार पत्र अर्थात स्पाइक प्रोटिनमा केन्द्रित थिए जो मानव शरीरको कोशिकाहरुमा गएर टाँसिन्छ । त्यसपछि कोशिकाहरुलाई संक्रमित गर्दै अरु भाइरस उत्पादन गर्न सुरु गर्छ । वैज्ञानिकहरुले अनुसन्धानमा पाए कि कोरोनाभाइरसको संरचना २००२ मा फैलिएको सार्स भाइरससँग ९३ प्रतिशत मिल्दोजुल्दो छ, अर्थात कोभिड १९ को जीनोम सिक्वेन्स सार्स भाइरसको जीनोम सिक्वेन्ससँग मिल्दोजुल्दो छ ।
कर्नेल युनिभर्सिटीको सुजेन डेनियल ल्याबमा कोरोनाभाइरसको बाहिरी पत्र अर्थात काँडेदार प्रोटिनका विषयमा गहन अध्ययन भइरहेको छ । यहाँ वैज्ञानिक गेरी ह्वीटकरको टिमले इन्फ्लुएन्जाको भाइरस र कोरोना भाइरस शरीरका कोशिकाहरुमा कसरी प्रवेश गर्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । भाइरस मानव शरीरका कोशिकाहरुमा टाँसिनु एउटा लामो र चरणबद्ध प्रक्रिया हो । यसमा भाइरसले सबैभन्दा पहिले यो जाँच गर्छ कि उसले सही कोशिका रोजेको छ कि छैन ।
यसका लागि भाइरसलाई कोशिकाको आसपास हुने रसायनले कोशिका सही ‘टार्गेट’ हो कि होइन भन्ने बताउँछन् । कोशिका सही टार्गेट हो कि होइन भन्ने कुरा सबैभन्दा पहिले भाइरसको बाहिरी पत्रले थाहा पाउँछ । यही काँडेदार पत्र पछि ‘टार्गेट’कोशिकाको सतहमा गएर टाँसिन्छ । त्यसपछि यो काँडेदार पत्र, जसलाई फ्युजन पेप्टाइड भनिन्छ, यसले कोशिकालाई टुक्र्याउन सुरु गर्छ । यसका लागि भाइरसले सबैभन्दा पहिले मानव शरीरमा रहेको ‘टार्गेट’ कोशिकाको बाहिरी पत्रमा प्वाल पार्न सुरु गर्छ । त्यसपछि भाइरसले यही कोशिकामा आफ्नो जीनोम सिक्वेन्स पठाउँछ र नयाँ भाइरसको उत्पादन सुरु गर्छ ।
गेरी ह्वीटकरको टिमले गरेको अनुसन्धानमा यो भाइरसको बाहिरी काँडेदार पत्रलाई मानव शरीरको कोशिकासँग सम्पर्क बनाउन क्याल्सियम आयनले सहयोग गर्ने पत्ता लागेको छ । साथमा यो क्याल्सियम आयनले बाहिरी काँडेदार पत्रको संरचनालाई पनि बदल्छ । यही कुरा सार्स र मर्सको संक्रमणमा पनि भेटिएको थियो । अहिले गेरी ह्वीटकरको टिमले भाइरसको काँडेदार पत्रमा यही विषयमा अध्ययन गरिरहेको छ र टिमले बाहिरी पत्रको रासायनिक प्रक्रियाको बारेमा छिटै सकारात्मक खुलासा हुने अपेक्षा राखेको छ ।
वैज्ञानिकले यो बाहिरी पत्रको रासायनिक प्रक्रिया पत्ता लगाएर यसलाई रोक्ने पद्धतिको खोजी गरिरहेका छन् । यदि यो रासायनिक प्रक्रिया रोकियो भने भाइरसले मानव शरीरका कोशिकासँग सम्पर्क गर्न सक्ने छैन र केही दिनमा भ्याक्सिनको असरले मर्नेछ ।
Facebook Comment