भिजन एण्ड भ्यालु ओभरसिजले प्रदान गर्याे कोरोना उपचार सामग्री
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को उपचार सहजताका लागि भिजन एण्ड भ्यालु ओभरसिज प्रालिले कान्ति बाल अस्पताललाई २५ थान व्यक्तिगत सुरक्षाका सामान (पिपिई) उपलब्ध गराएको छ । पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले अस्पतालका निर्देशक डा कृष्ण पौडेललाई शुक्रबार उक्त सामाग्री हस्तान्तरण गरे । सो अवसरमा पूर्वमन्त्री अधिकारीले अस्पताल आफैँले आफ्नो आवश्यकताअनुसारको सामग्री ल्याउन सक्नेगरी सरकारले बजेट व्यवस्थापन गरेर काम गर्नुपर्ने बताए ।
सहयोग सामग्री हस्तान्तरणका अवसरमा भिजन एण्ड भ्यालु ओभरसिजका सञ्चालक पदमराज पौडेलले कान्ति बाल अस्पतालमा कोरोना उपचारका लागि अत्यावश्यक पिपिई कम भएको भन्ने थाहा पाएर आफ्नो संस्थाकातर्फबाट तत्काल २५ थान पिपिई उपलब्ध गराइएको बताए । दोस्रो चरणमा छिट्टै अर्को थप २५ थान पिपिई पनि उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
पौडेलले कान्ति अस्पतालसँगै कास्कीको मादी, रुपा र माछापुच्छ्रे गाउँपालिका तथा अन्य सरकारी अस्पतालमा गरी ३०० थान पिपिई उपलब्ध गराउने बताए । सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक पौडेलले कोभिड–१९ को उपचारमा प्रत्यक्षरुपमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा कवचका रुपमा रहेको पिपिई विश्वव्यापीरुपमै अभाव भएको अवस्थामा यस्ता सहयोगले उपचारमा थप सहजता र हौसला मिल्ने बताए ।
अस्पतालमा हाल १० वेडको ‘आइसोलेसन’ वार्ड, २ वटा अत्याधुनिक कक्ष तथा १५ वटा क्याविन तयारी अवस्थामा राखिएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित तथा आकर्षक कामका लागि नेपाली कामदारलाई पठाइरहेको भिजन एण्ड भ्यालु ओभरसिजले स्वदेशमा आइपरेका विभिन्न विपतहरुमा यसरी नै सहायता उपलब्ध गराउँदै आइरहेको छ ।
Facebook Comment