संक्रमणको आशंकामा आइसोलेसनमा राखिएका व्यक्तिको रिपोर्ट त नेगेटिभ आयो तर…
काठमाडौं। एक व्यक्ति कोरोनाभाइरसको संक्रमण भएको आशंकामा अस्पताल पुगेका थिए । उनलाई आइसोलेसनमा राखियो र उनको नमूना परीक्षणका लागि पठाइयो । परक्षिणपछि ती व्यक्तिको रिपोर्ट आयो । रिपोर्टमा उनीमा कोरोनाभाइरसको संक्रमण नभएको पाइयो । तर, रिपोर्ट आउँदासम्म ती व्यक्ति जीवित थिएनन्, उनले आत्महत्या गरिसकेका थिए ।
भारतको तमिलनाडुको अरियालुरमा ती शंकास्पद बिरामीले तनावमा आएर आत्महत्या गरेको आज तकले लेखेको छ । ती शंकास्पद बिरामीलाई अरियालुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । ६० वर्षका ती व्यक्ति हालै केरलबाट फर्केका थिए । फर्किएलगत्ते उनलाई ज्वरो र खोकीको लक्षण देखियो । ६ अप्रिलमा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ७ अप्रिलमा उनको नमूना लिएर जाँचका लागि पठाइयो ।
उनी अस्पतालको आइसोलेसन वार्डमै बसेर रिपोर्टको प्रतिक्षा गरिरहेका थिए । यही बीचमा उनी यति तनावमा आए कि उनले आइसोलेसन वार्डमै आत्महत्या गरे । पुलिसले यो घटनाको थप जाँच गरिरहेको छ । उनले आत्महत्या गर्नुपर्ने कारण कोरोनाभाइरस नै थियो वा अन्य कुनै कारण थियो भनेर जाँच भइरहेको पुलिसले जनाएको छ ।
Facebook Comment