गैंडा गणना गरौं मौका यही हो

डिसी नेपाल
३० चैत २०७६ ८:३२

नेपालमा लकडाउन नभएको भए ऐले गैंडा गणनाको पूर्व निर्धारित काम सम्पन्न भइसकेको हुने थियो । हामी सबै नेपालको गैंडा गणनाको ताजा परिणम सुन्ने र अध्यावधिक हुने प्रतिक्षामा बसेका हुने थियौं।

गैंडा गणना सबैभन्दा धेरै उनै नेपालका प्रतीक गैंडाहरुको लागि अति आवश्यक थियो । किनभने चितवन राष्ट्रिय निकुञ्ज, जुन गैंडाको मूल घर हो, त्यहाँ गैंडाहरु ठूलो तनावमा छन् । अशान्ति र असुरक्षा महसुस गरिरहेका छन्।

फलस्वरुप गत बर्ष र यो वर्षमात्र विश्व सम्पदामा सूचिकृत नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जले ६१ वटा गैंडाको अप्रत्यासित क्षति व्यहोर्नु पर्यो । अर्थात् गैंडा मारियो वा मरे।

गैंडा गणना भनेको खुरुक्क गैंडाको संख्यामात्र गन्ने र गठजोड गर्दै जाने भन्ने होइन । बरु यो समग्र निकुञ्जको एक छेऊदेखि अर्को छेऊ र तलदेखि माथि एवं वारिदेखि पारिको व्यापक र विस्तृत एक्सरे हो।

मिहिन स्क्यानिंग हो र गैंडाको संख्या यकिन गर्नुको साथसाथै उसको घाँसे मैदान र घाँसको अवस्था, पिउने पानीको अवस्था, खेल्ने ताल, नदी, घोल र सिमसारको अवस्था तथा समग्र वासस्थानको सर्भे, विश्लेषण र निष्कर्षमा पुग्ने आघारभूत वस्तुगत यथार्थपरक तथ्यांक पार्कम्यानेजरलाई उपलब्ध गराउनु हो।

पार्क म्यानेजर भनेको चीफ वार्डेनलाई आफ्नो पार्क ऐनामा जस्तो हेरेर भविष्यमा व्यबस्थापनको योजना तर्जुमा, कार्यान्वयन र अनुगमन गर्न सजिलो पारिदिनु हो।

चीफ वार्डेन र प्रोटेक्सन युनिट कमाण्डर(गणपति)लाई सुरक्षा खतरा, चुनौती, ग्यापको दुरुस्त ज्ञान हुनु र तदनुसारको मजवुत सुरक्षा योजना बनाएर राष्ट्रिय निकुञ्जलाई भरपर्दो एवं विश्वसनीय सुरक्षाको प्रत्याभूति दिनु हो।

गैंडा गणना भनेको खुरुक्क गैंडाको संख्यामात्र गन्ने र गठजोड गर्दै जाने भन्ने होइन । बरु यो समग्र निकुञ्जको एक छेऊदेखि अर्को छेऊ र तलदेखि माथि एवं वारिदेखि पारिको व्यापक र विस्तृत एक्सरे हो।

भेटनरी डाक्टर, प्राविधिक र गैंडाविज्ञहरुको लागि गैंडा किन र के कति कारणले अनावश्यक दवाव र तनावमा छन् ? किन गैंडा खुसी र सुखी छैनन् ? परापूर्वकालदेखि खुसी गैंडालाई एक्कासि केले तनाव बढायो?

बासस्थान समस्या, आहारा समस्या, शान्ति सुरक्षा समस्या, रोगव्याधको समस्या, मानव पर्यटक सवारी साधनको अत्याधिक प्रयोग र अतिक्रमणको समस्या जलवायु परिवर्तनको समस्या जे सुकै होस् त्यसको दुरुस्त पहिचान र यकिन गर्ने अपूर्व अवसर गैंडा गणनाको समय हो।

पछाडि फर्केर हेर्दा

गैंडा गणना गर्नुपर्ने निर्धारित समय गतवर्ष थियो । गैंडा गणना गर्न बजेटको समस्या देखाएर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग टकटकिएपछि संरक्षण साझेदार संघ संस्थाले बजेट जुटाइदिएका थिए । त्यति गर्दा पनि निर्धारित बर्ष र समयमा गैंडाले आफ्नो भाग्य निर्धारण भएको देख्न पाएनन्।

एउटा अपूर्व अवसर गुमेको गुमेई भयो । सारा प्रकृतिविद्, संरक्षणविद् र गैंडाविज्ञहरु निराश र दुखी भए । गैंडाको अज्ञात कारणले धमाधम मृत्यु भइरहेको र अनपेक्षित परिणाम आउने संभावनाले गतबर्षको गैंडा गणनाबाट विभाग पछि हटेको रहस्य धेरैले अड्कलबाजी गरेर मन बुझाएर तैंचूप मैंचूप बसे । तर, क्षति रोकिएन झन् बढ्दै गयो।

गस्ती र सुरक्षा कार्वाही पनि बढ्नु र्गैडाको क्षति पनि बढ्नुबीचको असमाञ्जस्यता र रहस्य पत्ता लगाउन गैंडा गणना रामबाण हुने थियो तर त्यसलाई स्थगन गरेर टारियो।

वर्तमानलाई केलाउँदा
गत बर्षको बजेट अभावलाई समयमै संबोधन गरेर विभागले तारिफयोग्य काम गरेको छ । इतिहासमा पहिलोपल्ट विभागले आफ्नै बजेट खर्च गरेर गैंडा गणना गर्ने तय गरेको छ । फिल्डमा तदनुसारको जनशक्ति, प्रविधि, हात्ती र लजिस्टिकको बन्दोवस्त भयो । गैंडा गणकहरु उत्साहित पनि भए।

चैत्र पहिलो हप्तामा गर्नुपर्ने गणनालाई घांस लामो छ, देख्न कठिन छ भनेर पछाडि धकेलियो त्यसको विरोध भएपछि चैत्र १० गतेबाट गैंडा गणना शुरु गर्ने योजना बन्यो । संयोगले चैत्र ११ गतेबाट कोरोनाको प्रकोप आउनसक्ने भन्दै लकडाउन प्रारम्भ भयो।

गैंडा गणना एउटा विचित्रको, भव्य, रहस्यमय, रहरलाग्दो उत्सवजस्तो सुन्दर र रमाइलो कार्यक्रम हो । निकुञ्जका भएभरका हात्ती, जनशक्ति, श्रोत साधन, लजिष्टिक, प्रविधि लगाएर यो काम संचालन गरिन्छ।

रमाइलोका अतिरिक्त यो गणना कार्य जोखिमपूर्ण पनि हुन्छ । तर, भीमकाय गैंडालाई च्यापच्याप्ती छोपेर सयौं किलोमिटर टाढा बर्दिया र शुक्लाफांटा पुर्याई रिलिज गरेर विश्वलाई चकित पारेको नेपालको गैंडा गणनाको काम रमाई रमाई सम्पन्न गरेको पंक्तिकारको अनुभव छ।

वर्तमानको अनुकूलता

गैंडा गणनाको लागि आवश्यक बजेट छ । लजिष्टिक स्थानीय निकुञ्ज प्रशासनसंग छ । हात्ती लामबद्ध भएर प्रतीक्षारत छन् । जनशक्ति, प्राविधिक, भेटनेरी, विज्ञ सबै लकडाउनमा निकुञ्जभित्र गैंडा गणनाको व्यग्र प्रतीक्षामा छन् ।

गैंडा आफैं सबैभन्दा धेरै हतारमा र व्यग्रतापूर्वक प्रतीक्षारत होलान् किनकि उनीहरु पीडामा छन्, अचानक मारिएका र मरेका छन् । अव केबल चाहिएको छ केन्द्रको इच्छाशक्ति, प्रतिबद्धता आदेश।

लकडाउन वास्तवमा झनै अनुकूल छ । निकुञ्जभित्र शान्तसंग एकाग्र भएर यो कार्य सम्पन्न गर्नको लागि पर्यापर्यटन, पर्यटक, सफारी, केही नभएकोि समय गैंडा गणनाको लागि रामराज्य सरह हो । झनै दुरुस्त र शतप्रतिशत ठीक नतिजा निकाल्ने सुन्दर समय हो यो ।

गैंडा गणनाको लागि केन्द्र भनेको निकुञ्ज विभाग हो । विभाग गैंडाको कार्यकारी मुख्यालय हो । गणनाको निर्णयकर्ता र गैंडाको भविष्य निर्धारण गर्ने कार्यकारी विभाग हो। यसबारे निर्णय लिन विभागले कसैसंग सम्पर्क, सम्बन्ध र समन्वयसमेत गर्नु पर्दैन।

आफ्नो विभागको एकछत्र सर्वाधिकार बुद्धिमता र साहसका साथ प्रयोग गरेमात्र पुग्दछ । बांकी सहयोगीले तीन हात उफ्रेर स्वातस्फूर्त सहयोग गर्ने मात्र हो । विभागले आफ्नो निर्णय र कार्य योजनालाई तालुक मन्त्रालयबाट अनुमोदन अथवा गो अहेडको ग्रीन सिग्नल लिए पुग्दछ।

शंकाको फाइदा र सुधारको मौका

गैंडा गणनाको उद्घाटनमा मन्त्री, सचिव, संरक्षणमा साझेदार संघसंस्था प्रमुखलाई आमन्त्रण गरेर फूलमाला, भोजभतेर, होटल व्यबस्था गरेर तडक भडक गर्ने प्राचीन परम्परा सच्याउन ढिलो भइसकेको थियो।

लकडाउनले निकुञ्जको संवेदनशील काम खुरुखुरु लो प्रोफाइलमा गर, तडक भडक, हाईफाई अनावश्यक खर्च र हल्ला नगर भन्ने सन्देश दिइसकेको छ । वास्तवमा त्यो प्रकृतिको स्थायी र अर्थपूर्ण सन्देश हो । हरेक बर्ष अनिवार्य लागू र कार्यान्वयन गर्नुपर्ने प्राकृतिक नियम हो।

तर, हामीले खर्च गर्न, गराउन र बिल भजाउन तथा चाकडी बजाउन र काम देखाउनभन्दा पहिलेदेखि यो गलत अभ्यास गर्दै आएको छौं । धेरैवटा गैंडा गणनामा सहभागी पंक्तिकारलाई सबभन्दा धेरै अप्ठेरो, असजिलो र चरम चाकडीको क्षण लाग्ने समय त्यही हुन्थ्यो । जुन अहिले सच्याउने र सधैं त्यसलाई उपयुक्त नजिर मानेर पछ्याउने मौंका लकडाउनले दिएको छ।

शुभकामना

गैंडा गणनाको काम सम्बन्धित निकुञ्जहरुको हो । यो काम शुरु र फच्चे गर्न निकुञ्जहरु सक्षम, अनुभवी र काविल छन्। अनुभव र क्षमता अभिवृद्धिको यो एउटा अपूर्व अवसर हो । आफ्नो तयारी र क्षमता देखाएर गैंडा गणनाको माग र दवाव दिने काम स्थानीय निकुञ्ज प्रशासनहरुको पनि हो।

नतिजा जे जस्तो आओस् त्यसलाई आत्मसात गर्ने र सुधारको रोडम्याप बनाउने काम हामी सबैको हो । तसर्थ, शुभकामना छ । विभागले यो उच्च महत्वको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतीक्षाको संवेदनशील कामलाई विना विलम्ब शुरुवात गरोस्।

नतिजा महत्वपूर्ण होइन, गैंडा गणनाको काम सर्वाधिक महत्वको संसारको प्रतीक्षको घडी हो र वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अन्तर्राष्ट्रिय स्यावासी र तारिफ पावस् यो नैतिक, व्यबसायिक र धार्मिक जिम्मेवारी समयमा पूरा गरेर । गैंडा गणना तत्काल शुभारम्भ होस्, नयाँ वर्षको शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *