संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संघर्षमा खर्च गर्न माग
काठमाडौं। राजपा अध्यक्ष मण्डलका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संघर्षमा प्रयोग गर्न सरकारसँग माग गरेका छन्।
नेता महतोले अलिलेको पीडादायी र प्रलयकारी अवस्थामा संघीय र प्रादेशिक विकास कोषको बाँकी रहेको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा स्थानीय तह र वडामार्फत सर्वदलीय संयन्त्र बनाइ द्रूत गतिमा राहत र कोरोना विरुद्धको संघर्षमा खर्च गर्न सरकारसँग माग गरेका छन्।
नेता महतोले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रादेशिक सरकार र पालिकाहरुले मानवीय रुपमा संवेदनशील भइ संक्रमण नियन्त्रण, क्वारेन्टाइनको सुव्यवस्थित संचालन र राहतको कार्य दृढताका साथ गर्न आग्रह गर्छु।’
उनले आगामी आर्थिक वर्षहरुको संसदीय बजेटलाई स्वास्थ्य, कृषि र कोरोना विरुद्धको संघर्षमा सरकारले प्रयोग गर्ने गरी आवश्यक नीति योजना बनाउन आग्रह गरेका छन्। नेता महतोले केही संक्रमितको स्वास्थ्य लाभको कामनासमेत महतोले गरेका छन्।
‘यस संकटको घडीमा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले पूर्णरूपमा सरकारलाई सहयोग र समर्थन गरे पनि सरकार भित्रै समन्वयको अभाव र मानवीय सबेदनहिनताको कारणले कोरोनाको नियन्त्रण कार्य सन्तोषजनक नदेखिन र पीडित नागरिकलाई राहत बितरणको कार्य सुचारु रुपले संचालन हुन नसक्नु दुखद र दुर्भाग्यपूर्ण हो,’ महताले विज्ञप्तिमा उल्लेख गरेका छन्।
सरकारले गरेको निर्णय अनुसार ज्यालादारी मजदुर, विपन्न र गरिबलाई स्थानीय तह मार्फत दिने राहत र सहयोग पुर्याउने कुरा घोषणामा मात्र सीमित देखिएको नेता महतोले आरोप लगाएका छन्।
‘स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ सामग्रीहरु आवश्यक मात्रामा आजको दिनसम्म पनि व्यवस्था गर्म नसक्नुले पनि यो सरकारको काम गर्ने शैली बुझ्न सकिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
संकटको यस बेलामा सीमित स्रोतसाधनको बाबजुद पनि आफ्नो कर्तब्य पालन गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, पत्रकार, समाजसेबी संघ संस्था लगायत राजनीतिकर्मीहरुलाई महतोले धन्यबाद दिएका छन्।
Facebook Comment