इक्वेडरको दूतावासमा रहँदा विकिलिक्सका संस्थापकलाई भेट्न गएकी वकीलबाट दुई सन्तान जन्मिए
लन्डन । बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ ।
अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको आरोपमा हाल लन्डनको जेलमा रहेका असान्जकी वकील स्टेला मोरिसबाट जन्मिएका ती बच्चाहरु अहिले दुई र एक वर्षका छन् ।
बेलायतको अखबार मेलले आइतबार असान्जसँगै दुई बच्चाको फोटो सहित मोरिसको अन्तर्वार्ता प्रकाशन गरेको छ । मोरिसले आफूहरुले चाँडै विवाह गर्ने योजना बनाएको बताएका छन् ।
असान्ज अहिले बेलायतको बेल्मार्शस्थित उच्च सुरक्षा व्यवस्था सहितको जेलमा बन्दी छन् । जासुसी गरेको आरोपमा संयुक्तराज्य अमेरिकाले बेलायत समक्ष असान्जलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । तर अदालती सुनुवाईको प्रक्रिया जारी रहेकाले सुपुर्दगीको विषय टुंगो लागिसकेको छैन ।
असान्जकी वकिल मोरिसले असान्जको जीवन जोखिमपूर्ण अवस्थामा रहेको बताउँदै कोरोनाभाइरसका कारण बेल्मार्श जेल पनि सुरक्षित नरहेकाले तत्काल रिहा गर्न आग्रह गरेकी छन् ।
Julian Assange’s newly revealed partner, mother of their 2 young children, urges UK government to bail him and other vulnerable prisoners as #coronavirus sweeps prisons#FreePress#DontExtraditeAssange #coronavirus #COVID19 https://t.co/UAe8eMESef
— WikiLeaks (@wikileaks) April 11, 2020
बेलायत सरकारले कोरोनाभाइरसको संक्रमणको खतरा रहेको बताउँदै केही बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने योजना बनाइरहेको छ । तर असान्जलाई राखिएको बेल्मार्शमा उच्च सुरक्षा प्रबन्ध रहेको भन्दै बेलायत सरकारले असान्जलाई छाड्न गरिएको अनुरोधलाई अस्वीकार गरेको मोरिसले बताइन् ।
अफगानिस्तान र इराकमा अमेरिकी सैनिक आक्रमणका गोप्य सूचना एवं विद्युतीय फाइलहरु सन् २०१० मा विकिलिक्सबाट सार्वजनिक गरिएपछि असान्जमाथि अमेरिकी प्रतिजासुसी ऐन बमोजिम मुद्दा चलाइएको छ । अमेरिकाले पक्राउ गर्ने र आफ्नो जीवन नै जोखिममा रहेको भन्दै उनले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएका थिए, तर गत वर्ष उनलाई लन्डन प्रहरीले पक्राउ गरेको थियो ।
इक्वेडरको राजदूतावासमा असान्जले झण्डै एक आठ वर्ष बिताएका थिए । कानुनी सल्लाह एवं परामर्शका निम्ति असान्जलाई भेट्न मोरिस पटकपटक उक्त दूतावास गएको पनि मेलले प्रकाशन गरेको छ ।
Facebook Comment