लकडाउनका कारण कैलालीमा करोडौंँको केरा बारीमै सड्दै

डिसी नेपाल
३० चैत २०७६ १८:०७

लम्की । देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो ।

आफूहरुको करोडौंँ मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरुको गुनासो छ । ‘‘केरा कृषकका लागि चैत महिना राम्रो बिक्री हुने समय हो । केरा राम्रो उत्पादन भए पनि बजारमा जान नपाएपछि समस्या भएको छ ’’, कृष्ण वागवानी केरा फर्म टीकापुरका सञ्चालक विनोदकुमार शाह भन्छन्, ‘‘हामी त घाटामा गयौँ, दैनिक लाखौंँको केरा खेर गइरहेको छ ।’’

शाहले अहिलेसम्म करीब ३० लाखको केरा नोक्सान भइसकेको बताए। ‘‘अझै कति दिन लकडाउन हुन्छ थाहा छैन । केरा दैनिक बोटमै पाकेर झर्न थाले’’, शाहले भने, ‘‘यो आउंँदो वर्षका लागि तयार हुंँदै गरेका केरालाई मलजल गर्ने, स्याहार्ने समय पनि हो । लकडाउनका कारण कामदार पनि घर फर्किएका छन् । केराको स्याहारसमेत गर्न सकिएको छैन ।’’

असी बिघामा केरा खेती गरेका शाहका अनुसार यसको असर अर्को वर्ष उत्पादन हुने केरामा पनि पर्नेछ । उनी केरा व्यवसायीको उत्पादन सहज बजारसम्म पुग्ने व्यवस्था गराउन सरकारसँग माग गर्छन् ।

मंगलदीप एग्रिकल्चर फर्मका सञ्चालक नेपबहादुर चौधरीले पनि लकडाउन लम्बिँदै गएकाले ११ लाख बराबरको केरा खेर जाने अवस्था आएको बताए । तेह्र बिघामा व्यावसायिक रुपमा केराखेती गरेका नेकपा सुदूरपश्चिमका सचिव चौधरीले हाल दैनिक ३ सय दर्जन केरा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् । ‘‘बारीमा केरा सडिरहेको छ, त्यसैले क्वारेन्टाइमा बसेकालाई सहयोग गरिरहेको छु’’, चौधरीले भने, ‘‘उपभोक्ताले खान पाएका छैनन्, हाम्रो केरा खेर गएको छ । के गर्ने, विश्व नै समस्यामा छ ।’’

अंशु एण्ड नर्सरी कृषि फर्मका सञ्चालक रामबहादुर कुंँवर पनि करीब २७ लाख बराबरको केरा कुहिएर खेर गएको बताउछन् । ‘‘टीकापुरको केरा नेपालका सबैजसो जिल्लामा जान्थ्यो, अहिले जान पाएको छैन, सबै कृषकको केरा बारीमै सडेको छ’’, कुंँवरले भने, ‘‘हामी ऋण गरेर व्यवसाय गरेका कृषक निकै समस्यामा पर्ने देखिएको छ ।’’

कैलालीको टीकापुरमा ७ सय ५० हेक्टरमा केराखेती गरिएको टीकापुर नगरपालिका, कृषि शाखाले जनाएको छ । केराखेती विस्तारमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम नगरपालिकाले पनि सहयोग गर्दै आएका छन् ।




प्रतिक्रिया

One thought on “लकडाउनका कारण कैलालीमा करोडौंँको केरा बारीमै सड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *