माल्दिभ्समा ५ हजार नेपाली मजदुरहरुलाई घर फर्कन टिकट थमाइयो
माल्दिभ्स, माले । कोरोना भाइरसको प्रकोपका कारण माल्दिभ्सको अधिकांश होटल र रिसोर्टहरु बन्द भएकाले यहाँ कार्यरत नेपाली मजदुरहरु पनि समस्यामा पर्न थालेका छन् । कतिपय रिसोर्टहरुले उनीहरुलाई घर फर्कन आग्रह गर्दै हवाइ टिकटसमेत दिइसकेको छ ।
१० हजारदेखि १२ हजारसम्म नेपालीहरु कार्यरत रहेको टापु नै टापुको यो सानो देशमा यहाँको सरकारले भन्दा पनि होटल र रिसोर्टहरुले कामदारहरुलाई तत्कालका लागि घर फर्कनु भन्न थालेको छ । जानकारीअनुसार, यसरी होटलहरुले नै टिकट दिएर घर फर्कनका लागि भनिएका नेपाली मजदुरहरुको संख्या ५ हजार रहेको छ ।
माल्दिभ्समा १५० भन्दा बढी लाग्जरी रिसोर्टहरु रहेका छन् र त्यहाँ काम गर्नेहरुमा ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेका छन् । यी होटल र रिसोर्टहरु कोरोनका कारण सबैजसो नै बन्द छन् । खुलेकाहरुमा पनि पर्यटकहरु फिर्ता जान नसकेर अड्किएकाहरु मात्र बांकी छन् ।
कतिपय कम्पनीहरुले शुरुमा अबधि तोकेर बन्द गरेका छन् । जस्तो म आफैं कार्यरत रहेको रिसोर्टले ३ महिनाका लागि सबै काम बन्द गरेको छ ।
तर, कहिले खुल्छ भनेर व्यबस्थापनले केही बताउन सकेको छैन किनकि यो महामारीले कहिलेसम्म विश्वलाई आक्रान्त पार्ने हो टुंगो पनि छैन । यो रिसोर्टमा काम गर्नेमा म लगायत ४५ जना नेपाली छौं र सबैले नेपाल फर्कनका लागि कम्पनीबाट हवाई टिकट पाइसकेको छौं।
हामी नेपालीहरुका लागि सबैलाई समेट्ने यहाँ कुनै संघ संस्था छैन । तर, एकअर्कामा सम्पर्क गर्ने र हालखबर बुझ्ने काम भने धेरै अगुवा नेपालीहरुले गर्दै आएका छन् । म र मेरो कम्पनीका हामी नेपाली कामदारहरुले जस्तै अरु रिसोर्ट र होटलमा कार्यरत नेपालीहरुले पनि देश फर्कनका लागि टिकट पाइसकेका छन् तर कसरी देश जाने भन्ने समस्या छ ।
सार्क राष्ट्र भएपनि माल्दिभ्स नेपाली राजदूतावास छैन । सार्कभर एनआरएनए हुने कुरै भएन । माल्दिभ्सलाई श्रीलंकामा रहेको दूतावासले हेर्ने भनिएको छ तर त्यहाँको नेपाली दूतावासले यहाँका नेपालीहरुलाई कुनै वास्तै गरेको छैन ।
अहिले हजारौं नेपाली देश फर्किनु पर्ने अवस्थामा छौं तर हामीलाई फर्काउनका लागि हवाइ यातायातको प्रबन्ध कसरी हुनसक्छ भनेर हाम्रो दुतावाससँग सम्पर्क गर्ने हजारौं प्रयास गरे पनि श्रीलंकास्थित दुतावासले कुनै वास्ता गरेको छैन ।
कतिपय होटल र रिसोर्टहरुले २५ प्रतिशत तलब दिएर काम बन्द गरेका छन् । कतिपयले अलि बढी दिएका छन् प्रत्येक महिना बांच्ने खर्च भनेर ।
तर, यो कहिलेसम्म दिन्छ भन्ने यकिन छैन किनकि कम्पनीहरुले घर जाऊ भनेर टिकट दिइसकेका छन् । यो समस्याको समाधान भई रिसोर्ट र होटलहरु खुलेपछि कामका लागि फेरि बोलाइने आश्वासन हामीलाई दिइएको त छ तर घरमै रहेका बेला हाम्रो भिसा सकिने स्थिति छ धेरैजनाको ।
यो कुरा कम्पनीसमक्ष राख्दा उसले एउट पेपरमा माल्दिभ्स प्रवेशको अनुमति पठाइदिने र माले आइसकेपछि भिसा छापा हानिदिने कुरा भनिएको त छ तर के नेपालले कुनै इमेलमा आएको पेपरकै आधारमा हामीलाई फेरि काममा फर्कन माल्दिभ्स आउन दिन्छ त ? भन्ने समस्याले हामी धेरैलाई सताएको छ । नेपाल सरकार र दूतावासले हामीलाई यो कुरामा आश्वस्त पार्नु जरुरी छ ।
अहिले नै भिसा सकिएकाहरुलाई भने कम्पनीले तत्कालका लागि भनेर थपिदिएको छ । नेपालको लकडाउन खुल्नासाथ यहांका कम्तीमा ५ हजार नेपाली कामदारहरु स्वदेश फर्काइने तयार पारिएका छन् तर उनीहरुलाई कसरी फर्काउने भन्नेबारे दूतावाससंग कुनै कुरा हुन नसक्दा यहां नेपालीहरुमा अन्यौल छाएको छ ।
अहिलेसम्म माल्दिभ्समा कार्यरत कोही पनि नेपालीहरु कोरोना भाइरसको संक्रमणमा परेका छैनन । तर, माल्दिभ्समा यहांका स्थानीय जम्मा २० जना ब्यक्तिहरु भने संक्रमित भइसकेका छन् । यीमध्ये १३ जना उपचारपछि सकुशल घर फर्केका छन् भने बांकी उपचाररत छन् ।
आधिकारिक बुजेर खबर सम्प्रेषण गरौ !संसार नै महामरी ले आक्रमण गरेको बेला जहा छौ सुरक्षित बसौं घरको लाई सुरक्षित बस्न दिउ यो बेला नि रोजगरिको के को रोइलो हो ????