कोरोनाभाइरस उपचारमा ‘गेमचेन्जर’ भनिएको औषधीका विषयमा छाउन थाल्यो निराशा

डिसी नेपाल
१ वैशाख २०७७ १४:२७

काठमाडौं। विगत केही दिनदेखि औलोको उपचारमा प्रयोग हुने औषधी ‘हाइड्रोक्सिक्लोरोक्विन’को निकै चर्चा भइरहेको छ । यो औषधीको विश्वमा हुने कूल उत्पादनको ७० प्रतिशत भारतमा उत्पादन हुने भएकोले अमेरिका, अस्ट्रेलिया, जर्मनीसहित विश्वभरका ३० देशले भारतसन्ग यो औषधी मागे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो औषधीलाई कोरोनाभाइरसको उपचारमा ‘गेमचेन्जर’ भनिसकेका छन् । तर, वैज्ञानिक र स्वास्थ्य विशेषज्ञहरुले भने कोरोनाभाइरको उपचारमा यो औषधीको भूमिकालाई खारेज गर्न थालेका छन् । कैयौं वैज्ञानिकहरुले त कोरोनाभाइरसको उपचारमा यो औषधीको प्रयोगको विरुद्ध चेतावनी समेत दिएका छन् ।

सामान्यतया यो औषधीको प्रयोग आर्थराइटिस, ल्यूपस र औलोको उपचारमा हुन्छ । इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले पनि मानिसहरुलाई डाक्टरको प्रेस्क्रिप्सनबिना यो औषधीको सेवन नगर्न भनेको छ । उसले औषधीको सही डोज नभएमा खतरनाक साइड इफेक्ट हुन सक्ने चेतावनी दिएको छ ।

आइसीएमआरका वैज्ञानिक रमन गांगेडकरले ले भने ल्याबबाट पुष्टि भएका संक्रमितको सम्पर्कमा आउने स्वास्थ्यकर्मी र परिवारको हकमा या औषधीको प्रयोग गर्न सकिने बताएका छन् । आइसीएमआरले आफ्नो एडभाइजरीमा बताएअनुसार अध्ययनमा यो औषधी कोरोनाभाइरसको सुरुवाती बचावमा सहयोगी पाइएको बताएको छ । यद्यपि क्लिनिकल ट्रायलमा यो औषधीको सीमित सफलता मात्र देखिएको छ ।

गत महिना इन्टरनेशनल जर्नल अफ एन्टिमाइक्रोबायल एजेन्टमा प्रकाशित फ्रेन्च वैज्ञानिकहरुको एक अध्ययनमा २० जना बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विनबाट उपचार गरेपछि उनीहरुमा भाइरल लोडमा कमी आएको उल्लेख थियो । यसका अलावा अन्य बिरामीको तुलनामा यो औषधीको प्रयोग गर्नेहरुको शरीरमा भाइरस कम समयसम्म रहेको पाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही अध्ययनको हवाला दिँदै लगातार यो औषधीलाई गेमचेन्जर भनिरहेका हुन् । तर, अहिले यही अध्ययनका प्रकाशकले नै यो औषधी सबै मानकअनुरुप नभएको बताएका छन् ।

इन्टरनेशनल सोसाइटी अफ माइक्रोबायल एजेन्टले यो अध्ययनलाई लिएर कैयौं प्रश्न उठाएको छ । अधिकारीका अनुसार शोधकर्ताले आफ्नो डाटामा ती बिरामीलाई सामेल गरेका थिएनन् जसमा हाइड्रोक्सिक्लोरोक्विनको उपचारको राम्रो असर देखिएको थिएन । शोधकर्ताहरुले २६ बिरामीमा अध्ययन सुरु गरेका थिए तर ६ जना बिरामीमा यसको प्रभाव राम्रो नदेखिएपछि उनहिरुको ट्रायल बीचमै छोड्नुपरेको थियो । अध्ययनका अनुसार ट्रायलमा सहभागी ३ बिरामीलाई आइसीयूमा भर्ना गर्नुपर्यो, चौथो बिरामीको मृत्यु भयो भने एक बिरामीलाई बान्ता हुने समस्या भएपछि औषधी दिन बन्द गर्नुपर्यो ।

स्वेडेनका अस्पतालहरुले पनि कोरोनाभाइरस संक्रमितको उपचारमा यो औषधीको प्रयोग बन्द गरेका छन् । यो औषधीले बिरामीलाई तेज टाउको दुखाइ र आँखाको दृष्टिमा समस्या भएको थियो । यो औषधी दिएको केही दिनमै केही बिरामीहरुमा माइग्रेन, बान्ता, आँखाको ज्योति कम हुने जस्ता साइड इफेक्ट देखिएका थिए । १ प्रतिशत बिरामीमा यो औषधीका कारण मुटुको धड्कनमा पनि उतारचढाव देखियो । मुटुको धट्कन यसरी एक्कासी बढ्ने र घट्ने हुँदा हृदयाघातको समेत समस्या हुन सक्छ ।

मेडिकल वेबसाइट ड्रग डाटा फियर्स फार्माका अनुसार युरोपमा हाइड्रोक्सिक्लोरोक्विनलाई केवल क्लिनिकल ट्रायलसम्म मात्र सीमित राखिएको छ । चीन र फ्रान्समा ट्रायलको सुरुवाती सफलताका बावजुद युरोपियन मेडिसिन एजेन्सी (इएमए)ले भने कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन असरदार हुने कुरा अझै प्रमाणित नभएको भनेको छ । बेलायतले पनि क्लिनिकल ट्रायल नसकिँदासम्म यो औषधीको प्रयोगमा रोक लगाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सिक्लोलोरोक्विनको प्रयोगका विषयमा एउटा गाइडलाइन छापेको थियो तर यही हप्ता त्यो गाइडलाइन हटाइएको छ । सीडीसीले अपडेटमा लेखेको छ कि यो औषधीको क्लिनिकल ट्रायल अहिले पनि जारी छ । विश्लेषकका अनुसार सीडीसीको गाइडलाइनका कारण डाक्टरहरुले यो औषधी प्रयोग गर्न प्रोत्साहन पाइरहेका थिए । तर, अहिलेसम्म एउटा पनि क्लिनिकल ट्रायलमा यो औषधी प्रभावकारी र सुरक्षित भएको पुष्टि हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *