यूकेमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

डिसी नेपाल
१ वैशाख २०७७ १८:३७

बीबीसी । यूकेमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आइतवार १०,००० नाघेपछि सरकारको चर्को आलोचना शुरू भएको छ। त्यहाँका एक प्रसिद्ध वैज्ञानिक सर जेरेमी फार्रारले युरोपकै सबैभन्दा प्रभावित मुलुक यूके बन्न सक्ने चेतावनी दिएका छन्।

रोयल कलेज अफ सर्जन्सका उपाध्यक्ष सु हिलले भने यूकेमा ३०,००० जनासम्मको कोरोनाभाइरसका कारण मृत्यु हुनसक्ने बताएकी छन्। यसैबीच अक्सफोर्ड विश्वविद्यालयका एक प्राध्यापकले सेम्टेम्बरसम्ममा सबैका लागि कोरोनाभाइरसको खोप उपलब्ध हुनसक्ने दाबी गरेका छन्।

‘मन्त्रीहरू दिनका दिन उभिएका छन्, युद्धको बेलाजस्तो ठूलो कुरा भनेर हामीलाई सम्बोधन गरेका छन् जबकि यो समयमा उनीहरूले अस्पतालका वार्डमा केही प्लास्टिक र कागज पीपीईे पुर्‍याउनेजस्ता केही साधारण काम गरेपनि सहयोग हुन्थ्यो,’ हिलले भनिन्।

भूतपूर्व जनस्वास्थ्य निर्देशक प्राध्यापक जोन एस्टनले सरकारलाई अस्पतालमा मृत्यु हुने मात्रैको सङ्ख्या सार्वजनिक गरेको र हेरचाह केन्द्र वा समुदायमा मृत्यु हुनेहरूको सङ्ख्या नबताएको भन्दै पूर्ण इमान्दार हुन आग्रह गरे।

‘सामाजिक सञ्जालमा हामीलाई यकिन तथ्याङ्क नदिइएको भन्दै धेरै चिन्ता व्यक्त भएका छन्। मानिसहरूलाई वयस्कजस्तो व्यवहार गर्नुपर्यो,’ उनले भने।चिकित्सक लगायत एनएचएसका दर्जनौँ कर्मचारीहरूको मृत्यु भएको छ र त्यसरी मृत्यु हुनेमा अश्वेत, एशियाली र अल्पसङ्ख्यकको अनुपात बढी रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *