विश्वमा फेरि संरक्षित अर्थ व्यबस्था ?

डिसी नेपाल
१ वैशाख २०७७ २२:२४

भनिन्छ नि हरेक कालो रातपछि सुन्दर बिहानी आउँछ । अनि हरेक पिडा वा कष्टलाई पार गरिसकेपछिको आनन्द साच्चै नै सुन्दर र नयाँ लाग्छ जसरी युद्द जितेसके पछिको अनुभूति एउटा सिपाहीले गर्छ ।

विश्वभर छरिएर रहेका हामी नेपाली जातिहरु नेपाली नयाँ बर्ष २०७७ मा प्रवेश गरेका छौं तर यो पटकको नयाँ बर्ष प्रवेशसंगै सबैमा आउने उल्लास र नयाँ आशाभन्दा पनि एउटा भिषण युद्धको समयको त्रासैत्रास र डरैडरको बीचमा आफ्नाहरुलाई सामान्य संदेश पठाउनुमा सिमित रहेको छ ।

जतिखेर हामी नयाँ बर्षमा प्रवेश गर्दैछौ यतिखेर यो धर्तीको मानव समाज चीनको वुहानवाट शुरु भएर विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) संग युद्ध लडिरहेको छ । यो महामारीले कुन ठुलो राष्ट्र कुन सानो राष्ट्र , कुन प्रबिधिले उन्नत कुन कमजोर, कुन धनी या गरिब भनेर छुट्याएको छैन । हरेक समुदाय हरेक मान्छे उत्तिकै त्रासदीमा बाँचेको छ ।

विश्वभरिमा आजको मितिसम्म यो कोरोनाको कारणले संक्रमित हुनेको संख्या मात्र १८ लाखभन्दा बढी भएको छ भने यसको कारण बिश्वभरिमा मृत्यु हुनेको संख्या १ लाख १४ हजारभन्दा बढी पुगेको छ । तथ्यांकले सबैभन्दा बढी संक्रमित र मृत्यु हुने राष्ट्र अमेरिका बन्न पुगेको छ भने अरु बढी प्रभावितमा क्रमश स्पेन , इटाली , फ्रान्स, जर्मनी, ब्रिटेन र चीन छन् ।

अर्थात् विकसित र सर्वसम्पन्न भनिएका देशहरु यसको चपेटामा आक्रान्त छन् । यसको प्रसार र असर कहाँ पुगेर कहिले रोकिन्छ वा बिश्वको कति जनसंख्यालाई यसले मृत्युमा परिणत गर्छ भन्ने कुराको कुनै अनुमान वा प्रक्षेपाण गर्न सकिने अवस्था छैन । तर, शक्ति र प्रविधिसम्पन्न देशहरु नै अहिले युद्धको अग्रभागमा छन् ।

गत महिना चीनका राष्ट्रपति सी जिन पिंगले चीनले यो कोरोनाबरुद्धको अभियानलाई ‘पिपुल्स वार’ रुपको लिएको बताउनु , अमेरिकी रास्ट्रपति ट्रम्प्ले आफैलाई ‘युद्धकलिन रास्ट्रपति’ को संज्ञादिनु साथै फ्रान्सले कोरोनाबिरुद्ध युद्धको घोषणा गर्नुले स्पष्ट पार्छ कि विश्व साच्चै नै एउटा भिषण युद्धमा छ तर यो युद्धमा मानव सभ्यता जोगाउने एकमात्र उद्देश्य छ । दुश्मन परास्त गर्ने अस्त्रहरु अझै पत्ता लागिसकेका छैन ।

यो महामारीबाट उत्पन्न भएका विशेषताहरुलाई केलाउने हो भने यसबाट बिश्व अर्थतन्त्रमा पर्न गएको असर पनि कुनै युद्धको समयको अर्थतन्त्रभन्दा कम छैन । सरकारले जनस्वास्थ्यको संकटकालको ब्यबस्थापन गर्नु परेको छ । केन्द्रीय बेंकले बित्तीय संकटलाई कम गर्ने भूमिका खेल्नु परेको छ, राज्यको सेनाले ब्यारेकबाट बाहिर आएर विभिन्न अस्पताल निर्माणदेखि लिएर अन्य व्यवस्थापनमा खट्नु परेको छ भने नागरिकहरु सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताका कारण स्वतन्त्रताविहीनजस्ता भएका छन् ।

मानव सभ्यताको विकासका पछिल्ला काल खण्डहरुलाई हेर्ने हो भने हरेक ठुला संकटपछि यसले नया गोरेटो कोर्ने गरेको छ । पहिलो बिश्व युद्धले थिलथिलो परेको बिश्व अर्थतन्त्रका कारण आएको १९३० को आर्थिक मन्दीले उपभोगमुखी अर्थतन्त्रको निर्माण गर्यो । यही कारण औद्योगीकरणको युगको शुरुवात भयो भने ७० को दशकपछिको हालको विश्वले अंगालीरहेको नवउदारवादी अर्थतन्त्रका प्रमुख बिशेषताहरुमा पनि यो कोरोनाको महासंकटले केही महत्वपूर्ण प्रश्नहरु उठाएको छ ।

बिशेषत राज्यको भूमिका कम गर्दै लगेर प्रतिपर्धाको आधारमा चल्ने उत्पादन सम्बध बनाउने , राज्यको संरक्षण वा नियन्त्रणलाई पूर्णतया अन्त्य गर्ने नीतिमाथि नै प्रशं उठेको छ । किनकि, विश्वका सबैजसो सरकारले ठूलो धनराशी जनस्वास्थ्यमा त खर्च गर्नु परेको छ नै साना ठूला व्यापार ब्यवसायको सुरक्षाको लागि ठूला ठूला राहातका प्याकेज ल्याउनु परेको छ । अमेरिकी सरकारले भर्खरै पास गरेको डिफेन्स प्रोटेक्सन एक्ट (म्एब्) यसको एउटा उदाहरण हो । सबैजसो राष्ट्रहरु साना व्यबसायसहित राहतका प्याकेज ल्याउन बाध्य भइसकेका छन् ।

कोरोना महामारीले उब्जाएका यी प्रश्नहरुलाई केलाउदा हामी यो निक्र्यौल गर्न सक्छौ कि बिश्व अहिले बिशाल संकटमा मात्र छैन अर्को नयाँ युगको शुरुवातमा पनि छ , नयाँ सम्भावनाको संघारमा छ । नवउदारवादी पुँजीवादी अर्थतन्त्रको चरम व्यक्तिगत स्वतन्त्रता वा अनियन्त्रणमुखी अर्थतन्त्रले उब्जाएका समस्या या कमजोरीहरुलाई समाधान गर्ने नयाँ दिशामा विश्व जानेछ त्यो वास्तब मै नयाँ युगको शुरुवात हुने छ जसले हालको नवउदारवादी बिश्व अर्थतन्त्रको राम्रो बिकल्प साथै समाज विकासको नयाँँ फड्को हुनेछ । त्यसले हाम्रो नयाँ बर्ष उल्लासमय नभए पनि केवल नयाँ वर्ष मात्र हैन नयाँ युगको शुरुवात वन्न सक्ने सम्भावना धेरै छ । हार्दिक शुभकामना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *