सिमानामा व्यपाक सुरक्षाकर्मी परिचालन गरी आवतजावत कडा बनाउन राजपाकाे माग

डिसी नेपाल
३ वैशाख २०७७ १३:५५

काठमाडौं। राजपाले सरकारको वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णयको स्वागत गर्दै लकडाउनलाई अझै प्रभावकारी बनाउन माग गरेको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवधिमा दैनिक काठमाडौंबाट हजारौंको संख्यामा सर्वसाधारण आप–आफ्नो जिल्लातर्फ गइरहेको भन्दै कतिपय स्थायीय तहमा त्रास उत्पन्न भएको उल्लेख गरेका छन्।

संयोजक भण्डारीले लकडाउनलाई प्रभावकारी बनाउन थप प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

उनले छिमेकी मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको उल्लेख गर्दै खुल्ला सिमानमा झन निगरानी बढाउन र व्यापक सुरक्षाकर्मीको परिचालन गरी आवतजावतलाई कडाइ गर्न माग गरेका छन्।

संयाेजक भण्डारीले जारी गरेकाे विज्ञप्ति  :

हिजो सरकारले वैशाख १५ गते सम्म वढाएको लक डाउनको समय सिमा सम्बन्धि निर्णय स्वागतयोग्य छ। तर यसलाई अझ प्रभावकारी बनाउन केही महत्त्वपूर्ण कुराहरुमा सरकारको ध्यान पुग्नु आवश्यक छ।

१)  लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ-आफ्नो जिल्ला तर्फ गैरहेका छ्न जस्ले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।

२) उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

३) छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।

४) देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन।त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ।

अन्त्यमा आम जनसमुदायलाई यो महामारीबाट जोगिन सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भएकोले लक डाउनको नियमहरु जिम्मेवारीका साथ पालना गर्नु हुन सवैलाई हार्दिक अपील गर्दछौं ।

शरतसिंह भण्डारी
संयोजक
राष्ट्रिय जनता पार्टी नेपाल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *