जर्मनीमा मे ३ सम्म प्रतिवन्धहरु जारी रहने

डिसी नेपाल
३ वैशाख २०७७ २३:२५

जर्मनी । कोरोना भाइरसविरुद्ध लड्न जर्मनीमा मे ३ सम्म प्रतिवन्धको समय लम्ब्याइने भएको छ ।

बुधबार संघीय सरकार र प्रान्तीय सरकारहरुबीच भएको भिडियो बैठकमा कोरोनाको गति कम गराउन ३ मे सम्म प्रतिबन्ध जारी राख्ने विषयमा सहमति भएको जर्मन संचारमाध्यमहरुले जनाएका छन् ।

तर, पूर्ण सुरक्षा विधी अपनाएर ८ सय वर्गमीटरसम्मका साना खुद्रा बजार भने आउँदो सोमबारबाट खुल्ला गरिने भएको छ । मे ४ बाट स्कुलहरु खुल्ने उल्लेख गरिएको छ तर “डे केयर” हरुको लागि भने अर्को सूचना निकालिने जनाइएको छ । ३१ अगस्तसम्म ठुला जमघट र कार्यक्रम गर्न प्रतिबन्ध छ ।

बाहिर निस्कदां मास्क लगाउन आग्रह गरिएपनि अनिवार्य भने गरिएको छैन । लम्ब्याइएको प्रतिबन्धमा पनि पहिलेझैं नै सार्वजनिक ठाउँमा २ जना भन्दा बढी भेला हुन नपाउने, कम्तिमा डेढ मिटरको दुरी कायम गर्नु पर्ने, सार्वजनिक ठाउँहरू, अपार्टमेन्टहरू र निजी संस्थाहरूमा मनाउने पार्टि अस्वीकार्य , हेयरड्रेसरहरू, कस्मेटिक स्टुडियोहरू, मसाज सेन्टरहरु, ट्याटू स्टुडियो र यस्तै प्रकारका व्यक्तिगत हेरचाहको क्षेत्रमा सेवा दिने कम्पनीहरू बन्द गरिने आदि रहेका छन् ।

जर्मनीमा बुधबार अपरान्ह सम्म १ लाख ३४ हजार जनामा संक्रमण देखिएको छ । ७३ हजार जनालाई निको भैसकेको छ भने ३ हजार ६ सय जनाको निधन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *