भारतीय सीमामा क्वारेन्टाइनमा बसेका नेपालीलाई भित्र ल्याउछौं : परराष्ट्र मन्त्री ज्ञवाली

डिसी नेपाल
४ वैशाख २०७७ ९:२०

नयाँ दिल्ली। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमामा क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई देशभित्र ल्याउने बताएका छन्।

डिसी नेपालसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भारतको उत्तरप्रदेशको नेपाल भारत सीमामा क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई सरकारले नेपाल भित्र ल्याउने सोचाइ बनाएको जानकारी दिए।

उनले नेपाल ल्याउँदा स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने सोचाइ रहेको पनि बताए। उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर क्रमश देशभित्र लैजान्छौं, उहाँहरुलाई सुरक्षित क्वारेन्टाइनमा राखेर, स्वास्थ्य परीक्षण गरेर संक्रमणमुक्त हुनुहोस् भन्ने चाहान्छौं।’

भारतका सीमामा राखिएको क्वारेन्टाइनमा शुरुदेखि बसेकाहरुको १४ दिन पुगेको भए पनि पछि त्यहाँ मिसिन पुगेका व्यक्तिहरुका कारण क्वारेन्टाइनमा बसेको अवधि कति हो भन्ने यकिन गर्न मुस्किल परेकोले नेपाल ल्याउन केही अप्ठेरो परेको उनले बताए।

भारतमा भएका नेपालीहरुलाई आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग र आफूले विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेको बताउँदै उनले भने, ‘हामी निरन्तर सम्पर्कमा छौं तर पनि त्यहाँ १ अर्व २० करोड जनसंख्या भएको भारतमा कोसिस गर्दा गर्दै ध्यान पुग्न नसकेको हुनसक्छ। यसबारे भारत सरकारलाई र हाम्रो दूतावासलाई पनि भनेका छौं।’

उनले नेपालमा रहेका विदेशी नागरिकहरुको आफ्नो सरकारले रेखदेख गरिरहेको र महामारीको यो बेला विदेशमा रहेको नेपालीको संरक्षण गर्नुपर्ने दायित्व पनि त्यहीँको सरकारको हुने बताए।

उनले विदेशमा रहेका सबै दूतावासलाई अलर्ट रहन र हटलाइनमार्फत त्यहांका नेपालीसंग सम्पर्क रहन भनिसकिएको र फेरि पनि भन्ने जानकारी दिंदै प्रधानमन्त्री र आफूले आआफ्ना विदेशी समकक्षीहरुसँग कसैले वाहना गरेर यो बेला जागिरबाट ननिकालोस् भन्ने काम भएको बताए।

अन्तर्वार्ता तलको लिंकमा सुन्न सकिन्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *