कोरोना प्रभावित व्यवसायका लागि आर्थिक प्याकेज ल्याउन माग
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले क्षति पुर्याएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन्।
बुधबार आर्थिक पत्रकार समाज (सेजन) ले गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेरेन्समा निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई परेको क्षतिको आकंलन गरी राहत प्याकेज ल्याउनुपर्ने बताइन्। ‘सरकारले आफ्नो क्षमता अनुसार राहत प्याकेज ल्याओस।’ अध्यक्ष राणाले भनिन्।
उद्योग, पर्यटन, उत्पादनलगायतका उद्योगहरुमा निकै क्षति भएको भन्दै अध्यक्ष राणाले क्षेत्रगत रुपमा क्षतिको विवरण हेरेर प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन्।
अहिले नीजि क्षेत्रलाई कामदारलाई कसरी तलब दिने ब्याज तिर्ने विषयमा अप्ठेरो गरेको भन्दै उनले उल्लेख गरिन्।
असहज परिस्थितिमा पनि निजी क्षेत्रले नाफाको मतलब नगरेर कसरी मानव जीवनलाई बचाउन सकिन्छ भनेर लागि परेको र खाद्यान्न लगायतका अति आश्यकिय बस्तुको सहज आपूर्ति निजी क्षेत्रकै कारण भएको अध्यक्ष राणाको भनाइ थियो।
उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए। त्यसका लागि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयलाई जानकारी गराएको र ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्ने बताए।
नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताए। तर तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने बताए।
त्यसका लागि आम नेपाली एक भएर लाग्नुपर्ने उपाध्यक्ष मल्लले बताए। खास गरी सरकारले कृषि र औषधी जन्य सामानमा आत्मनिर्भर बन्ने खालका प्याकेज ल्याउनुपर्ने उनको भनाइ थियो।
Facebook Comment