कुनै देशले प्रवेश नदिएपछि २ महिनासम्म ३८२ जना समुद्रमै, भोकले मरिसकेका थिए ३० जना
ढाका। बंगलादेशको कोस्टगार्डको टिमले समुद्रमा एउटा ठूलो डुंगामा रहेका ३८२ जना भोका रोहिंग्या शरणार्थीहरुलाई उद्धार गरेको छ । यी रोहिंग्या मुसलमानहरु विगत २ महिनादेखि समुद्रमै तैरिरहेका थिए । बंगलादेशका प्रवक्ता शाह जिया रहमानका अनुसार एक गश्ती दलले ३ दिनसम्म खोजी अभियान चलाएर यी रोहिंग्याको उद्धार गरेको हो ।
समाचार एजेन्सी एपीका अनुसार खोजी अभियानका क्रममा ठूलो संख्यामा रोहिंग्या सवार भएको एउटा डुंगा समुद्रमा भेटिएको थियो । यो डुंगालाई बंगलादेशको तकनाफको समुद्र किनारमा ल्याइयो । डुंगामा रहेका सबै रोहिंग्या भोका थिए । डुंगामै ३० जनाको मृत्यु भइसकेको थियो । रहमानका अनुसार यो डुंगा ५८ दिनदेखि समुद्रमै थियो । विगत १ हप्तादेखि यो डुंगा बंगलादेशको जलक्षेत्रमा थियो ।
एक स्थानीय संवाददाताले डुंगाको फोटो पोस्ट गरेका थिए । फोटोमा अधिकांश महिला र बालबालिकाको भीड देखिन्छ । डुंगामा मानिसहरु निकै कठिनाइका साथ उभिन सकिरहेका थिए । ढाकाको एक अखबारका अनुसार यी रोहिंग्याहरु बंगलादेशको शरणार्थी शिविरका थिए । उनीहरु मलेसिया जानका लागि हिँडेका थिए तर कोरोनाभाइरसका कारण भएको लकडाउनपछि उनीहरुले त्यहाँ प्रवेश गर्न पाएनन् ।
उनीहरुलाई कुनै पनि देशले प्रवेश नदिएपछि उनीहरु बंगलादेश फर्किएका थिए । अधिकारीहरुका अनुसार उनीहरुलाई शरणार्थी शिविरमा छुट्टै राखिएको छ । उनीहरु कोरोना संक्रमित हुन सक्ने आशंका गरिएको छ । म्यानमारबाट भागेर आएका १० लाख रोहिंग्या बंगलादेशको शरणार्थी शिविरमा छन् । कामको अवसर, शिक्षा आदिका लागि यी शरणार्थीहरु मलेसिया, थाइल्याण्ड जाने प्रयास गरिरहन्छन् ।
Facebook Comment