कर्णालीमा दाना उद्योग चाहिन्छ

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा दाना उद्योग स्थापनाको माग गरेकी छन्। नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालसँग सातै प्रदेशका कृषि मन्त्रीबीच भएको ‘भर्चुअल’ बैठकमा मन्त्री केसीले कर्णालीमा दाना उद्योग नहुँदा यहाँका किसान अधिकतम् मारमा परेका बताइन् ।
‘दाना उद्योग नहुँदा कर्णालीले अहिलेसम्म आयातमा निर्भर रहनुपरेको छ’, उनले भनिन्, “कोभिड–१९ प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दीले यहाँका किसानहरु पीडामा छन् ।” उक्त बैठकमा मन्त्री केसीले दाना आपूर्ति हुन नसक्दा ९१ हजार ३५७ लेयर्स जातका कुखुरा सङ्कट पर्ने अवस्था देखिएको जनाउँदै बन्दाबन्दीले गत चैत ३० गतेसम्म कर्णालीभरि एक लाख ५८ हजार तयारी ब्रोइलर कुखुरा र दैनिक उत्पादित २४ हजार ३०० लिटर दुध तथा १५ हजार ९०० अण्डा बिक्री हुन नसकेको बताइन्।
सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री भुसालले कर्णाली प्रदेश सरकारले दाना उद्योग शुरु गरे स्रोत जुटाएर सहयोग गरिने प्रतिबद्धता जनाएको मन्त्री केसीले बताएइन् । कोरोनापछि पनि बाँच्नका लागि खाद्य सङ्कट हुनसक्ने भन्दै मन्त्री भुसालले मुलुकको भविष्य देख्ने प्रमुख आधार कृषि भएको बताएका छन् ।
Facebook Comment